बालुवाटार बैठक : माधव नेपालले देउवा भए समर्थन गर्छु होइन भने म उठ्छु
काठमाडौं । राष्ट्रपति निर्वाचनमा सहमति जुटाउन बसेको बैठकमा कुरा मिल्न सकेन । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिमा उठे आफूले समर्थन गर्ने होइन भने अरु जुनसुकै उठेपनि आफू पनि उठ्ने माधवकुमार नेपालले बताएका छन् ।
स्रोतका अनुसार माधवकुमार नेपालले आजको बैठकमा आफ्नो दाबी राष्ट्रपतिमा गरेका छन् । पुरानो गठबन्धन ब्युताउने कसरत स्वरुप आज बिहान बालुवाटारमा भएको बैठकमा साझा उम्मेदवार बनाउने बारेमा छलफल भएको थियो । तर नेपालले देउवालाई राष्ट्रपति बनाए आफू पछाडि हट्ने नभए आफू राष्ट्रपतिमा दाबी गर्ने बताए पछि सहमति हुन नसकेको स्रोतले बताए ।
कांग्रेसको योजना नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । तर नेपालको असहमति पछि बैठक बिना निस्कर्ष सकिएको छ ।
बैठकमा सहभागी दलहरुले दिनभरी आ–आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे फेरि बैठक बस्ने तयारी गरेका छन् ।
नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेसले गरेको हो । यसअघि बिहीबार साँझ बसेको माओवादी, एस र जसपाको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने समझदारी गरेकोमा कांग्रेसले एक वर्षे प्रधानमन्त्रीको अफर गरेको थियो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निर्णायक वार्ता गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्: