प्रदेश खारेजीको माग गदै आएको राप्रपाका पाठक बागमती प्रदेशसभाको सभामुख
हेटौँडा । बागमती प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् ।
उनी सत्ता गठबन्धनबाट उम्मेदवार बने थिए । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरेका हुन् । पाठकले ६२ मत ल्याउँदा अधिकारीले ३६ मत ल्याए । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत प्राप्त गरिन् । नेकपा एकीकृत समाजवादीले भने कसैलाई पनि मत हालेन ।
राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रदेश खारेजीको माग गर्दै मत मागेको थियो ।
प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ गरी १३ सिट जितेको राप्रपा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनमा निर्णायक बन्यो । केन्द्रमा एमाले–माओवादी गठबन्धनलाई साथ दिएको राप्रपाले प्रदेशको मुख्यमन्त्री नै मागेको थियो ।
बागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए । नेपाली कांग्रेसका एकजना प्रदेशसभा सांसद मतदानमा अनुपस्थित भएका थिए । सभामुख भएका पाठक समानुपातिक तर्फका सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्: