Bagmati Samachar Logo

बागमती प्रदेश माओवादीका भागमा ,चौथो मुख्यमन्त्री शालिकराम जम्मकट्टेल

काठमाडौं । सत्ता गठबन्धनमा भागवण्डाको कुरा मिलेको छ । भागबण्डामा बागमती प्रदेश माओवादी केन्द्रको भागमा परेको छ । यो संगै बागमती प्रदेशको चौथो मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने छन् । बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले बागमतीमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

सहमतिअनुसार बागमतीमा पहिलो मुख्यमन्त्री नेकपा माओवादी केन्द्रबाट धादिङका जम्मकट्टेल हुने भएका हुन् । गठबन्धनको निर्णयअनुसार आफू मुख्यमन्त्री बन्ने तय भएको जम्मकट्टेलले जानकारी दिए । उनी प्रदेशको कामचलाउ आर्थिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाएको बागमतीले दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री भोलि ९सोमबार० ५ बजेभित्र पाइसक्नेछ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले भोलि २५ पुस (सोमबार) अपराह्न ४ बजेसम्म सरकारमा दाबी गर्न समय दिएका छन् ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । बागमतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।