हेटौंडामा डलर देखाएर रकम लुट्ने ४ जना पक्राउ
हेटौंडा । हेटौंडामा डलर देखाएर लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगि गर्दै हिँडेको अवस्थामा प्रहरीले अमेरिकी डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
विभिन्न जिल्लाका मानिसहरुलाई मोबाइलबाट सम्पर्क गरेर आफूसँग अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुट्ने ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन रहेका छन् ।
डिएसपी कार्कीले बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा १७ हटिया स्थित सालक पार्कबाट उनीहरुलाई पक्राउ गरिएको बताए । उनले उक्त समूहबाट एक जना फरार रहेको र थप अनुसन्धान भइहेको बताए ।
प्रहरीले उनीहरुको साथबाट १ हजार ७४१ डलर, नेपाली ६ हजार २१० नेपाली रुपैयाँ, बा ५० प ९३७२ नम्बरको मोटरसाइकल, बा प्र ०२ ०१९ प ९६२६ नम्बरको मोटरसाइकल र बा प्र ०२ ०३४ प ४२८७ नम्बरको तीन वटा मोटरसाइकल बरामद गरेको जनाएको छ ।
यसैगरी उनीहरुको साथबाट कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङग्रा ९साना ढुङगाहरु०, मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक दुइ थान बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: