Swornakshar Logo

फाटेका मोजा भित्र पत्रिकाको डल्लो खेलेर बनेको कालो मोती, अर्थात : पेले

काठमाडौं । इङल्याण्डका पूर्व खेलाडी बबी चाल्र्टनले एक पटक भनेका थिए – ‘सायद फुटवलको विकास पेलेका लागि भएको हो ।’ फुटवलका प्रायः सवै कमेन्टटेटरले पेलेलाई सुन्दर खेलको बेहतरिन प्रतिपादकका रुपमा लिन्थे ।

पेलेको अद्भूत क्षमताले कसलाई लोभ्याएन होला र रु दक्षिण अमेरिकी राष्ट्र ब्राजिलका राष्ट्रिय हिरो पेले विश्व खेलकुदको आइकन बने । मैदान बाहिर पनि पेले उत्तिकै प्रेरणादायी रहे । समाजमा पिछडिएका र वञ्चितिकरणमा परेका वर्गको उथ्थानका लागि उनले निरन्तर काम गरिरहे ।

सन् १९५० जुलाइ १६ मा फिफा विश्वकपको उपाधिका लागि ब्राजिलले उरुग्वेको सामना गर्यो । ब्राजिलले पहिलो पटक विश्वकप आयोजना गरेको थियो । राष्ट्रिय टिमलाई विश्व च्याम्पियन बन्नका लागि उरुग्वेसंग हार टारे पुग्ने थियो । यता ब्राजिलियन सानो शहर बाउरोको दृष्य भने यस्तो थियो ।

९ वर्षिय एडसन अरान्ते दो नासिमेन्तो आफ्नो घर बाहिर खेलिरहेका थिए । उनका पिता रेडियोमै टासिंएर बसेका छन् । उनी ब्राजिल पहिलो पटक विश्व विजेता बनेको सुन्न चाहन्छन्थे । तर जब खेल सकियो, उरुग्वेले ब्राजिललाई दुइ–एक गोलले स्तब्ध पार्दै उपाधि उचाल्यो । खेलिरहेका एडनसले सायद् आफ्नो पिता रोएको सुने ।

उनी पिता छेउमा पुगे अनि एडसनले भने बुबा नरुनुहोस । म तपाईका लागि विश्वकप जित्नेछु । युवा एडसन पेलेका रुपमा हुर्किए । यिनै विश्व फुटवलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा विहिबार निधन भएको छ ।

जिवनीः

पेले सन् १९४० मा मिना गेरियास स्थित ट्रिस कोरासोएस मा जन्मिएका थिए । उनको परिवार राम्रो भविष्यको खोजीमा नजिकको बाउरो भन्ने शहरमा बसाइ सर्यो ।

रिबीमा हुर्किएका पेलेका अविभावकले फुटवल किन्न सक्दैन थिए । त्यसैले पेलेको पहिलो बल बन्यो फाटेका मोजा भित्र पत्रिकाको डल्लो ।

उनका तीन जादुयी खुट्टाहरुले फाटेको मोजा भित्र पत्रिका राखेर बनाइएको वल छुने वित्तिकै आकर्षक बन्थ्यो । गल्लीमा खाली खुट्टाले वललाई किक हान्दै दिन विताउने त्यो फुच्चे केटो अरु भन्दा फरक थियो । मान्छेहरुको नजरमा उनी छिट्टै पर्न थाले । पेले जब १५ वर्षका भए उनलाई स्थानीय प्रशिक्षक वाल्डे डि विर्तोले सान्तोष क्लबमा लगे ।

यहिबाट सुरु भएको पेलेको यात्रा उच्चतम विन्दुमा पुग्यो । सान्तोष शहरबाट नाम राखिएको क्लबमा पुगेपछि बिर्तोले भनेका थिए – ‘यो बच्चा एक दिन विश्वको उत्कृष्ट फुटवलर बन्नेछ ।’ केही मिनेटमानै सान्तोषका प्रशिक्षक पेले बाट प्रभावित भए र उनीसंग सम्झौता गरे । यो कुरा सन १९५६ को हो । त्यसको दुई वर्षपछि पेले स्विेडनमा थिए ।

ब्राजिलको राष्ट्रिय टिमबाट पहिलो विश्वकप उपाधि जित्ने सपना सहित । सान्तोषमा आवद्ध भएको पहिलो सिजनमानै उनले ३२ गोल गरे । लिगकै उच्च गोलकर्ता बनेपछि उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो । स्वदेशमा परिचित बनिसकेका पेले पहिलो विश्वकप खेल्दा मात्र १७ वर्षका थिए ।

फाइनलमा स्विडेनलाई पाँच दुई गोलले पराजित गर्दै ब्राजिलले पहिलो पटक विश्वकपको उपाधि जित्यो । जसमा पेलेले दुई गोल गरे । रेफ्रिले खेल सकिएको सिठ्ठी बजाएपछि ‘वन्डर किड’ मैदानमानै ढले । उनलाई सवैले कांधमा उचालेर खुशीयाली मनाए ।

१९५८ को विश्वकप पछि पेले एकाएक सेलिब्रेटी बने । पहिलो पटक विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन अगाडी बसेका दर्शकले एउटा पातलो केटा जो आफ्नै कल्पनाको संसारमा उत्साहका साथ खेलिरहेको देखे । दिग्गज खेलाडीको वरिपरी चक्कर लगाउने केटो विश्वकप सकिदा सम्म ग्लोबर स्टार बन्यो ।

तीन विश्वकप जित्ने एक मात्र खेलाडी

पेलेले १९६२ र १९७० मा पनि फिफा विश्वकप जिते । अहिलेसम्म तीन विश्वकप जित्ने पेले एक्ला खेलाडी हुन् । पेले विश्वकप जित्ने सवैभन्दा सानो उमेरको खेलाडी बने । १९७० मा तेस्रो पटक विश्वकप जित्दा ब्राजिलले इटालीलाइ चार एक गोलले पराजित गरेको थियो ।

ब्राजिलका लागि पहिलो गोल १९ औं मिनेटमा पेलेले हेडर मार्फत गरे । यो विश्वकपमा ब्राजिलको एक सयौं गोल थियो । यहि बाट पेलेले वास्तविक रुपमा विश्व फुटवलको महान खेलाडीमा सूचीकृत भए । यहि विश्वकप बाट दश नम्बरको जर्सीले ख्याती कमायो । यो टिमलाई ब्राजिलको अहिले सम्मको उत्कृष्ट विश्वकप टिम पनि मानिन्छ ।

मैदान बाहिर पेले

पेलेको मैदान बाहिरको छबी पनि शान्त, प्रिय र स्वच्छ मानिन्छ । ब्राजिल र सान्तोष बाट विश्वका विभिन्न ठाउँ पुग्दा पेलेको एक नजर पाउन समर्थक मरिहत्ते गर्दथे । १९६७ मा पेलेको खेल हेर्न नाइजेरियामा दुवै पक्षले ४८ घन्टा युद्धविराम गर्ने समहमति गरेका थिए ।

१९६१ मा ब्राजिलले, पेलेलाई राष्ट्रिय सम्पति घोषणा गर्यो । यसको एउटा कारण थियो पेलेलाई ब्राजिल बाट कसैले चोरेर नलैजाओस । पेलेलाई १९९९ मा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले एथ्लिट अफ द सेन्चुरी घोषित गर्यो । यस्तै फिफाले डिएगो म्याराडोना सहित शताब्दी खेलाडीको अवार्ड प्रदान गरेको थियो । ७० को दशकमा युरोपमा एक पेय पदार्थ पछि पेले सर्वाधिक लोकप्रिय ब्रान्ड थियो ।

उनले राष्ट्रिय टिमबाट १९७१ मा सन्याष लिए । उनले सान्तोष र अमेरिकाको न्यु योर्क कसमस बाट ब्याबसायिक फुटवल खेल खेलेका थिए । पेलेले १९७७ अक्टोबर १ मा करियरको अन्तिम खेल खेले । सो बेला उनले पहिलो हाफ सान्तोष र दोस्रो हाफ कसमस बाट खेलेका थिए । नोभेम्बर १९, १९६९ मा पेलेले करियरको एक हजार गोल पुरा गरे ।

सो वेला समर्थक पिचमा प्रवेश गर्दा ३० मिनेट सम्म खेल रोकिएको थियो । विश्वकपका शक्तिशाली ब्यक्तिहरु भन्दा पेले बढी लोकप्रिय र चर्चित थिए । उनीहरु पनि पेलेसंग भेट्न लामो समय प्रतिक्षा गर्दथे । खेल जीवन पछि उनले संयुक्त राष्ट्रसंघ र युनिसेफको दुत बनेर बालबालिका, भ्रष्टाचार निवारण तथा वातावरणको क्षेत्रमा योगदान गरे ।

 

पेले १९९५ देखी १९९८ सम्म ब्राजिलको खेलमन्त्री बन्दा फुटवल संघमा भएको भ्रष्टाचार न्युनिकरण गर्न महतवपुर्ण भुमिका निभाएका थिए । ब्राजिलको सानो शहरलाई विश्वको नक्सामा विषेश स्थान दिलाएका पेलेले सादगी जीवन विताए । पेलेलाई कसैले भगवान त कसैले कालो मोती उपनाम दिए । एक फुटवल लेखकले भनेका थिए – ‘सायद फुटवलको आविस्कार पेलेकै लागि भएको हो ।’ पेलेले आफ्नो पुस्ता मात्र होइन पछिल्लो पुस्ताका स्टार किलियन एम्बाप्पेसम्मलाई प्रेरित गरे । फुटवलको माध्यमबाट विश्वकलाई एक बनाए । उनको भौतिक शरीर हामी बीच रहेन् । तर उनले संसारभर छरेको मायाँको सुगन्ध भने कहिल्यै कम हुने छैन् । हार्दिक श्रद्धान्जली

नम्बरमा पेले

तीन पटक विश्वकप विजेता ( १९५८, १९६२, १९७२)
सवै भन्दा कम उमेरमा विश्वकप जित्ने खेलाडी (अहिले सम्म यो किर्तिमान कायमै छ । १९५८ मा विश्वकप जित्दा पेले १७ वर्षका थिए ।)

( ८ सय १२ आधिकारिक खेलमा ७ सय ५७ गोल (यो किर्तिमान पछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तोडे )

ब्राजिल फुटवल संघ र सान्तोषका अनुसार पेलेले १३६७ खेलमा १२८३ गोल गरेका छन् ।

फिफाले १३६६ खेलमा १२८१ गोल गरेको बताएको छ ।


ब्राजिलका लागि ९२ खेलमा ७७ गोल । (कतार विश्वकप २०२२ मा नेइमारले पेललेको किर्तिमान बराबरी गरे । )
फिफा विश्कपमा १२ गोल १९७० को मेक्सिको विश्वकपमा ६ एसिस्ट । (एकै विश्वकपमा भएको यो किर्तिमानी एसिस्ट ) सवै खेलमा गरी ९२ ह्याट्रिक १९५९ मा सान्तोषका लागि १२९ गोल (एकै क्यालेन्डर वर्षमा कुनैपनि खेलाडीले क्लबका लागि गरेको यो सर्वाधिक गोल )