Bagmati Samachar Logo

सरकारको साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा समिति गठन

काठमाडौं । सत्तारुढ दलको बैठकले साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाएको छ । समितिले पाँच दिनमा साझा कार्यक्रम ल्याउने बताइएको छ ।

बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

अध्यक्ष ओली नेतृत्वको समितिमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवल शमशेर राणा र रास्वपाबाट डा. मुकुल ढकाल रहेका छन् । गृहमन्त्री लामिछानेले सरकार के–का लागि हो भन्ने कुरा तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।

गृहमन्त्री लामिछानेले बैठकमा मन्त्रीमण्डल बिस्तार गर्नेबारे पनि छलफल भएको बताए । उनले बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारका विषयमा पनि छलफल भएको बताए ।