प्रभु साहले घोषणा गरे आम जनता पार्टी
काठमाडौं । प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ घोषणा भएको छ । बिहीबार एक कार्यक्रमका बीच साहको अध्यक्षतामा उक्त पार्टी घोषणा भएको हो ।
पार्टीको केन्द्रीय कमिटी ५१ सदस्यीय बनाइएको छ । सातै प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको साहको सचिवालयले जानकारी दिएको छ ।
लामो समय माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजनपछि एमालेमा गएका थिए । तर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट( ३ बाट निर्वाचित भएका हुन् ।
स्वतन्त्र उम्मेदवार जिताउँ अभियानलाई पार्टीमा रूपान्तरण गरिएको साहले जानकारी दिएका छन् । साथै पार्टीको अन्तरिम विधान २०७९ पनि पारित भएको साहले जानकारी दिए । गत चुनावमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका साहले स्वतन्त्र उम्मेदवार जिताउँ अभियान चलाएका थिए ।
आम जनता पार्टीले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अध्यक्षमा हरिप्रसाद पोखरेल छन् भने इन्चार्जमा रामप्रित राम चयन भएका छन् । त्यस्तै मधेसमा श्रीचन मुखिया अध्यक्ष र उपेन्द्र साह इन्चार्ज, बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इन्चार्ज, गण्डकीमा राजन यादव ‘मनोज’ अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इन्चार्ज, लुम्बिनीमा परमानन्द वर्मा अध्यक्ष र रीता देवी यादव इन्चार्ज, कर्णालीमा सियाराम कुश्वाह अध्यक्ष र उपेन्द्र साह इन्चार्ज तथा सुदूरपश्चिममा केशव राय चौधरी अध्यक्ष र कुन्दन कुश्वाह इन्चार्ज तोकिएका छन् ।
त्यस्तै आईटी आर्मी, आम दलित मोर्चा, आम महिला मोर्चा, आम विद्यार्थी मोर्चा, आम किसान मोर्चा, आम बुद्धिजीवी मोर्चा, आम मुस्लिम मोर्चा, आम मजदुर मोर्चा, आम सम्पर्क मञ्च नामक जनवर्गीय संगठन तोकिएको छ ।
त्यस्तै संसदीय विभाग, संगठन विभाग, प्रचारप्रसार विभाग, विदेश विभाग, स्कुल विभाग र आर्थिक विभाग नामक विभाग गठन गरिएको छ । यसका साथै अग्रगामी शक्तिहरूसँग सहकार्य र एकताका लागि भन्दै तीन सदस्यीय वार्ता समिति पनि गठन गरिएको छ । जसमा उपेन्द्र साह, रामप्रित राम र इश्लाम हवारीलाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्: