राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइने
हेटौंडा । १० औं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले मातहतका निकाय मार्फत् सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा दिवस मनाउने तयारी गरेको जानकारी दिएको हो ।
‘पोल्ट्री विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रविद्धता’ नारा सहित यो दिवस मनाउने तयारी गरेको हो । मन्त्रालयले राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाउने कार्ययोजना समेत निर्माण गरी पुस ८ गतेदेखि १७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि मनाउने तयारी गरेको मन्त्रालयका सचिव शरणकुमार पाण्डेले बताए । प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कुल मासु तथा अण्डा उत्पादनमा क्रमशस् करिब २२ र ६० प्रतिशत योगदान दिदै आएको उनले बताए ।
सरकारी स्तरबाट बारा जिल्लाको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको समुद्घाटन २०१७ साल पौष १७ गते भएको सन्दर्भमा आधार मानेर उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी २०७० सालबाट हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसको रुपमा मुलुकभर विभिन्न कार्यक्रम सहित आयोजना गर्न थालिएको उनले बताए ।
बागमती प्रदेशको अर्थतन्त्रमा विशिष्ट योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको उचित सम्मान र सम्बोधन गर्दै राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सप्ताहव्यापी रुपमा सफलताका साथ सम्पन्न गर्न मन्त्रालयले कार्ययोजना तयार गरेको उनको भनाई छ । पोल्ट्री व्यवसाय वर्तमान अवस्थाको बारेमा समिक्षा गर्ने, पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, पोल्ट्रीजन्य उत्पादको पोष्टिक महत्वको बारेमा आम उपभोक्तालाई जानकारी गराई दैनिक उपभोगको लागि आकर्षित गर्ने, राष्ट्रिय पोल्ट्री दिवस सफलताका साथ सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।
दिवसको पहिलो दिन पुस ८ गते दशौं राष्ट्रिय पोल्ट्री दिवस सम्बन्धी मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने, पुस ११ गते १३ वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरुमा दिवसको विषयमा पत्रकार सम्मेलन गर्ने, सोही दिन कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट मन्त्रालयमा दिवसको कार्यक्रम समुद्घाटन गर्ने, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पोल्ट्रीसँग सम्बन्धित संघ संस्थाहरुसँगको अन्तरकृया कार्यक्रम आयोजना गर्ने, पोल्ट्री क्षेत्र सम्बन्धी पम्पलेट तथा ब्रोसर लगायतका प्रसार सामग्री तयारी तथा वितरण गर्ने, पत्रपत्रिका लगायत विभिन्न मिडियाबाट प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।
पुस १२ गते स्थानीय तह तथा पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम आयोजना गर्ने, पुस १३ गते गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण कार्यक्रम आयोजना गर्ने, नेपाल भेटेरिनरी एशोसियसनको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुस १४ गते पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, पुस १५ गते पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने, १६ गते श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण गर्ने र पुस समापन कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: