प्रचण्डले पठाए चार बुँदे सर्कुलर, कार्यकर्तालाई अश्लील म्यासेज पठाउने नेता निलम्बित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको छ ।
प्रचण्डले पुस ४ गते सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्य बद्री बजगाईंलाई पार्टीले निलम्बन गरेको हो । उनले अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लील म्यासेज पठाएको आरोप लागेको छ । ‘पार्टीका केन्द्रीय सदस्य बद्री बजगाईंको विषयमा पार्टीकै भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) मा कार्यरत एकजना महिला कमरेडको निवेदन र सामाजिक सञ्जाल फेसबुकबाट पठाइएका अश्लील म्यासेजहरुको प्रतिलिपिसहित बागमती प्रदेश कार्यालयको सिफारिसका आधारमा निज बद्री प्रसाद बजगाईंलाई आजकै मितिबाट लागू हुने गरी केन्द्रीय समितिबाट निलम्बन गरिएको छ’, सर्कुलरमा भनिएको छ ।
यसबारेमा सत्य तथ्य बुझी आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्ने पनि पार्टीले अनुशासन आयोगलाई निर्देशन दिएको छ । पुस ३ गतेको बैठकमा अध्यक्ष प्रचण्डले मुलुकको पछिल्लो विकसित राजनैतिक घटनाक्रम लगायतका समग्र विषयहरुमा संक्षिप्त रिपोर्टिङ समेत गरेको सर्कुलरमा उल्लेख छ ।
माओवादीले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा सबै पालिका समिति, जिल्ला समन्वय समिति र प्रदेश समितिस्तरमा सम्पन्न गरेर पौष मसान्तभित्र अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।
यौन दुराचारको आरोप लागेका माओवादी नेता बजगाईँ को हुन्
बद्री बजगाईँलाई यौन दुराचारको आरोप लगेपछि निलम्बनमा परेका छन् । अखिल क्रान्तिकारीका एक महिला नेतृलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील सन्देश पठाएपछि पार्टीले कारबाही गरेको हो ।
अखिल क्रान्तिकारीकी नेतृलाई यौन आशयका सन्देश पठाएपछि उनको उजुरीका आधारमा पार्टीले बजगाईँलाई निलम्बन गरेको हो । बजगाईँले प्रायः रातको समयमा किशोरीहरूलाई यौन आशयको सन्देश पठाउने गरेको उनी निकट नेताहरू बताउँछन् ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट माओवादी केन्द्रमा भर्खरै प्रवेश गरेका थिए । बजगाईँ काठमाडौं ३ बाट समेत प्रतिनिधि सभा उम्मेदवार समेत भएका थिए । पार्टीले फिर्ता लिन निर्देशन दिएपछि निष्क्रिय भई बसेका थिए । बजगाईँले लामो समय मजदुर संगठनमा नेतृत्व समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: