सट्टेबाजीमा २० वर्षे युवाले करोडौँको कारोबार गरेको खुलासा
काठमाडौं । एक २० वर्षे युवकले विश्वकपलगायतका विभिन्न खेलहरुको सट्टेबाजीमा करोडौंको अवैध कारोबार गरेको पाइएको छ । महोत्तरी घर भइ हाल ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने आदर्श ठाकुरलाई पक्राउ परेको प्रहरीले जानकारी दिए ।
रसियन बेटिङ एप्लिकेसन १एक्स बेटमार्फत खेलको सट्टाबाजी लगाउने कार्यमा उनी एजेन्टको रुपमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सानेपाबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाइएको छ ।
उनले बेटमार्फत सट्टाबाजी गराउन विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टको रुपमा काम गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ । यसैगरी रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संलकन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा उनले डिजिटल अकाउन्ट खोलेको पाइएको छ । सो क्रममा उनले विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकको सिमकार्ड समेत खरिद गरेको पाइएको अनुसन्धानबाट खुलेको कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
उनले सट्टेबाजीका क्रममा वालेटमा संकलन गरेको रकम नबिल, सिद्धार्थ र एनआईसी एसिया बैंकको आफ्नो खातामा रकमान्तरण गर्ने गरेको पाइएको छ । यसरी उनले वालेटबाट २ करोड २८ लाख ४ हजार ४४८ रुपैयाँ रकमान्तर गरेको पाइएको कोइरालाले बताए ।
हालसम्म अनुसन्धानको क्रममा खुल्न आएका ४८५ वटा विभिन्न सेवा प्रदायहरुका डिजिटल वालेटहरुको कारोबार रोक्का राखी अनुसन्धान भइरहेको पनि कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस्: