Bagmati Samachar Logo

हेटौंडा बजारबाट चौकिटोलमा सारिएको तरकारी बजारको उद्घाटन्

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेको तरकारी तथा फलफूल बजार अलि पर वडा नम्बर–१ चौकिटोल सारिएको छ । हेटौंडा–१० बसपार्कबाट चौकिटोलको रापतीनदी किनार नजिक निर्माण गरिएको स्थानमा सारीएको हो ।

उपमहानगरपालिका र तरकारी तथा फलफूल व्यावसायी संघको ३ करोड ५० लाख रुपैयाँ लगानीमा तरकारी बजार निर्माण गरिएको हो । उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतको निर्देशनमा निर्माण सुरु गरिएको तरकारी बजारको आज उद्घाटन् गरिएको हो ।

राप्ती खोलाको उकास क्षेत्रमा निर्माण भएको सो थोक बजारको आइतबार हेटौंडा उपमहागनरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरिन् । हेटौँडा उपमहानगरपालिका र नेपाल फलफुल तथा तरकारी व्यापारी संघ मकवानपुरको संयुक्त लगानीमा तरकारी थोक बजारको निर्माण गरिएको हो ।

नयाँ बनेको बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा गरी १०६ वटा स्टल रहेको संघका सहसचिव मनोज साहले जानकारी दिए । स्टल निर्माणका लागि बसपार्कमा रहेको तरकारी बजारका १०६ जना ब्यबसायी प्रत्येकले २ लाख ५० हजार र उपमहानगरपालिकाले ३३ लाख रुपैयाँ लगानी गरेको छ । २०७८ मंसिर १४ गते बाट निर्माण सुरु गरिएको स्टलहरुको पुर्ण रुपमा निर्माण सम्पन्न भएपछि मंसिर २८ गते सर्ने तयारी गरिएको हो ।

यहि हप्ताभित्र तरकारी बजारका नयाँ स्टलहरुमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न राप्ती खोलाको उकास क्षेत्रमा जग्गा उपलब्ध गराएको थियो ।

अहिले तरकारी बजार रहेको हेटौंडा बसपार्क क्षेत्रमा उपमहानगरले बस टर्मिनल निर्माण गरिरहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले तरकारी बजारलाई व्यवस्थित गर्दै व्यवसायीलाई राम्रो व्यवसायिक वातावरणको सुनिश्चितता गर्न उपमहानगर तयार रहेको बताइन् । उनले ठाउँ सारेर व्यापारमा समस्या भए उपमहानगरले सहयोग गर्ने विश्वास ब्यक्त गरिन् ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, सोही वडाका वडाअध्यक्ष सविन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाई, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपाने लगायत विभिन्न संघ संस्था र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।