बाजुराको बुढीनन्दामा मतदान सकियो
काठमाडौं । बाजुराको बुढीनन्दा ५ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मंसिर ४ गते स्थगित भएको मतदान आज शनिबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
९ सय ९९ मतदाता रहेको मतदान केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थिले बताएका छन् । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको अवस्थीले जनाए । मतदानको समयमा सामान्य विवादसमेत नभएर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले बताएको छ ।
मंसिर ४ गते मतदान सुरु भएको केही समयमै कांग्रेस र एमालेबीच झडप हुँदा मतदान अधिकृतले मतदान स्थगित गरेको सूचना टाँसेका थिए । निर्वाचन आयोगले मंसिर १० गते पुनः मतदान गर्ने गरी मिति तोकेको थियो ।
शनिबार सम्पन्न भएको मतदानसँगै बाजुरामा मतदान सम्पन्न भएको छ । तर, कांग्रेसले आठवटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राखेको छ । मतदान केन्द्र कब्जा भएर फर्जी भोट खसाएको एकअर्काले आरोप लगाएका छन् ।
केही मतदान केन्द्र कब्जा भएको जानकारीपछि निर्वाचन आयोगको टोली बाजुरा अनुगमनमा पुगेको छ । आयोगका सहसचिव तुलसी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली बाजुरा पुगेर छानबिन गरिरहेको छ । राजनीतिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाई भेटेर मतदानको बारेमा बुझिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: