Bagmati Samachar Logo

विरोध खतिवडाले २२ वर्षपछि सामना गर्नुपरेको चुनावी नतिजा

हेटौंडा । मकवानपुरबाट संसदीय निर्वाचनमा सधैँ सफल हुदै आएका पात्र हुन विरोध खतिवडा । उनले जति पटक टिकट पाए सफल भए । एक पटक पनि नहारेका खतिवडा यस पटक भने आाफ्नै शिष्यासंग कडा प्रतिस्पर्धामा छन् ।

चुनाव नहार्ने नेताहरुमा पर्थे उनी पनि । यसर्थमा पनि उनलाई जिल्लाको राजनीतिक खेलाडीका रूपमा हेरिन्थ्यो । उनले यसअघिका सबै चुनाव नेकपा एमालेबाट उठेर जितेका थिए ।

तर, आमनिर्वाचन–२०७९ मा भने खतिवडाले एमालेबाटै फुटेको नेकपा (एकीकृत समाजवादी)बाट गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लडेका हुन् । कहिल्यै चुनाव नहारेका खतिवडाले आफ्नो राजनीतिक यात्राको २२ वर्षपछि एउटा चुनावी नतिजाको सामना गरिरहनुपरेको छ । मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचन लडेका उनी २४ वर्षपछि चुनावी मतपरिणामको निरन्तर दोस्रो स्थानमा छन् ।

क्षेत्र नम्बर २ मा हालसम्म ३९ हजार ४ सय ४१ मतगणना भएको छ । जसमा एमालेका उम्मेदवार महेशकुमार बर्तौलासँग खतिवडा २ हजार २ सय ४५ मतले पछाडि छन् । बर्तौलाले १५ हजार ९ सय २ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार पूर्वस्वास्थ्यमन्त्री खतिवडाले १३ हजार ६ सय ५७ मत मात्रै पाए । बर्तौला र खतिवडा दुवैलाई पछ्याउँदै आइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् ।

२०५६ को निर्वाचनमा उनले यस्तै नतिजाको सामना गर्नु परेको थियो । तत्कालीन सामयमा मकवानपुरमा ३ वटा निर्वाचन क्षेत्र थियो । उनले हेटौँडा उपमहानगरपालिकाका वडाहरू रहेको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । खतिवडालाई त्यतिबेलै काउन्टर दिनेमा राप्रपाका दिपकबहादुर सिंह थिए । उनै सिंह हालको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पनि राप्रपाबाटै उम्मेदवार छन् ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य मुनु सिग्देलका अनुसार खतिवडा २०५६ को निर्वाचनमा सिंहसँग चुनावी नतिजामा पछाडि परेका थिए । तर, अन्तिम मतपरिणाममा खतिवडा विजयी भए । उनले त्यसयताका निर्वाचनमा कहिल्यै पछाडि फर्कनु परेको थिएन । ‘उहाँले ०५६ पछिका निर्वाचनमा सधैँ अगाडि भएरै चुनाव जित्नु भयो । कहिल्यै पछाडि फर्कनु परेको थिएन,’ सिग्देलले शिलापत्रसँग भनिन् ।

मकवानपुरमा खतिवडा र बर्तौलाबीच एउटा रोचक भिडन्त नै भइरहेको हो । रोचक यसर्थमा कि बर्तौला खतिवडाका राजनीतिक चेला हुन् भने उनी पहिलो पटक निर्वाचन लड्दै छन् । अहिलेसम्म लडेका निर्वाचन नहारेका खतिवडा भर्सेस पहिलोपटक निर्वाचनमा सहभागी भएका बर्तौलाको भिडन्त निर्वाचनको सुरुवाती चरणदेखि नै रोचक थियो ।

खतिवडाले मकवानपुरबाट २०४८, २०५१, २०५६ र २०७४ मा गरी चार पटक प्रत्यक्ष निर्वाचन जितिसकेका छन् । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभारव्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् । उनलाई पार्टीले टिकट दिएको थिएन । हालसम्मको जितमा एमालेबाट उठेका उनलाई एमालेबाटै विभाजित भएको पार्टी एकीकृत समाजवादीको नयाँ र पहिलो परीक्षा कति फलदायी हुनेछ ? त्यसका लागि भने अन्तिम मतपरिणाको प्रतीक्षा गर्नैपर्छ ।