मनाङमा कांग्रेसका गुरुङ विजयी तर संसद छिर्न पाउने छैनन्
काठमाडौं । हिमालपारीको जिल्ला मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनको यो जितसंगै कांग्रेसले दुई ठाउँमा जित निकालेको छ । तर गुरुङ संसद् छिर्न भने पाउने छैनन् । गुरुङमाथि आर्थिक अनियमितताको आरोप छ ।
मन्त्री हुँदा मेनपावर व्यवसायीको पक्षमा काम गरेको आरोप लागेका गुरुङ काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा विवादमा पनि मुछिएका छन् । जग्गा भाडामा लगाउने क्रममा आर्थिक अनियमितता गरेको भन्दै उनीमाथि भ्रष्टाचार आरोप लागेको थियो ।
त्यही आरोपमा ०७५ माघमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीसहित १६ जनाविरुद्ध मुद्दा चलिरहेको उक्त मुद्दामा गुरुङलाई ३१ करोड बिगो दाबी गरिएको छ । अहिलेसम्म किनारा नलागेको त्यही मुद्दाकै कारण गुरुङ संसदमा प्रवेश गर्न नपाउने भएका हुन् । उनी ०७५ कै चैतमा साधारण तारेखमा छुटेका थिए ।
त्यस्तै, भ्रष्ट्राचार निवारण ऐनको दफा ३३ मा पनि त्यस्तो मुद्दा दायर भएपछि सार्वजनिक पदधारण गरेको व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ । सोही कारण विशेष अदालतबाट मुद्दा किनारा नलाग्दासम्म उनी संसदमा छिर्न पाउने छैनन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ ले भ्रष्टाचार अभियोगमा सजाय भुक्तान गरेको व्यक्ति उम्मेदवार बन्न नपाउने भनेको छ । सो ऐनको दफा १३ मा निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले २ वर्षसम्म भुक्तान नगरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य मानिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्: