Bagmati Samachar Logo

बागमतीमा कसको अवस्था कस्तो छ

काठमाडौं । ४ मंसिरको चुनावको लागि सत्ता गठबन्धनबाट बागमती प्रदेशका ३३ प्रतिनिधिसभा क्षेत्रमध्ये १८ मा कांग्रेस, ११ मा माओवादी केन्द्र र ४ मा एकीकृत समाजवादीका उम्मेदवार छन् ।

काठमाडौं १० मा कांग्रेस र माओवादीले मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका छन् । एमालेले ३२ क्षेत्रमा उम्मेदवार उठाएको छ । चितवन २ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दीनेश कोइरालालाई समर्थन गरेको छ भने मकवानपुर २ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिह्नबाट उठेका छन् ।

२०७४ मा भएको चुनावमा वाम गठबन्ध्नबाट २० क्षेत्र जितेर नेकपा एमाले बागमती प्रेदशमा पहिलो दल बनेको थियो । माओवादीले ७ क्षेत्र जित्दा नेपाली कांग्रेसले ५ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका थिए । अहिले सत्ता गठबन्धनमा पाँच दल छन् । एमाले फुटेर एकीकृत समाजवादी बनेको छ । स्थानीय तहमा एमाले तेस्रो बन्न पुगेको छ ।

३३ मध्ये २१ सिटमा सत्ता गठबन्धन ग्रिन जोन देखिन्छ । गठबन्धनको आन्तरिक सर्वेक्षणमा बागमतीका २३ स्थानमा गठबन्धनका उम्मेदवार सुरक्षित रहेको दाबी गरिएको छ । गठबन्धनको रिपोर्टअनुसार २०७४ र स्थानीय निर्वाच परिणामको आधारमा विश्लेषण गर्दा उम्मेदवारी दिएका १८ मध्ये १० क्षेत्रमा कांग्रेस अगाडि छ । त्यस्तै, उम्मेदवारी दिएका ११ मध्ये ७ क्षेत्रमा माओवादी केन्द्र अगाडि देखिन्छ भने एकीकृत समाजवादी ४ वटै क्षेत्रमा अगाडि छ ।

काठमाडौं १, ३, ४, ५, ६ र १०, नुवाकोट २, धादिङ २, सिन्धुपाल्चोक २, काभ्रे २, रामेछाप, सिन्धुली १, मकवानपुर १, चितवन १ र २, रसुवा, ललितपुर १, भक्तपुर २ मा कांग्रेसका उम्मेदवार छन् । यी मध्ये काठमाडौं १, ४, ६ र १०, सिन्धुपाल्चोक २, काभ्रे २, धादिङ २, ललितपुर १, रामेछाप, रसुवा, र सिन्धुली १ गरी ११ क्षेत्रमा कांग्रेसले जित्ने क्षेत्रमा राखेको छ ।

माओवादीका ललितपुर ३, काभ्रे १, नुवाकोट १, दोलखा, सिन्धुली २, चितवन ३, सिन्धुपाल्चोक १ र काठमाडौं २, ७, ९ र १० गरी १२ क्षेत्रमा उम्मेदवार छन् । ललितपुर ३, काठमाडौं ७, नुवाकोट १, काभ्रे १, सिन्धुली २, सिन्धुपाल्चोक १ र दोलखा गरी माओवादीले जित्ने ७ क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ ।

नेकपा एकीकृत समाजवादीका धादिङ १, मकवानपुर २, ललितपुर २ र काठमाडौं ८ गरी ४ क्षेत्रमा उम्मेदवार छन् । समाजवादीले ४ वटै क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ । नेमकिपाले भक्तपुर १ मा जित निकाल्न सक्छ । १२ क्षेत्रमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

काभ्रे

२०७४ को निर्वाचनमा यो जिल्लामा कांग्रेस निल भएको थियो । दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्र र क्षेत्र नं २ मा एमालेका उम्मेदवार विजयी भएका थिए ।

अहिले काभ्रे १ मा माओवादीका सूर्यमान दोङ र नेकपा एमालेका रेशम लामा प्रतिस्पर्धामा छन् । दोङ माओवादी पोलिटब्यूरो सदस्य हुन् भने लामा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । स्थानीय तह चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धनमा रहेका दलको ९६ हजार ३४७ र नेकपा एमालेको ५५ हजार ५१७ मत छ । गठबन्धनमा रहेका दलले पाएको मत एमालेको भन्दा ४० हजार ८३० ले बढी हो ।

क्षेत्र नं २ एमालेका गोकुल बाँसकोटा र कांग्रेसका शिव हुमागाईबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । २०७४ सालमा सहज जित निकालेका बाँसकोटाका लागि यो पटक चुनौती हुन सक्छ । एमालेको किल्ला मानिए पनि प्रदेशमा जित हासिल गरेका प्रभावशाली नेताहरू एकीकृत समाजवादीमा गएका कारण त्यति सहज देखिँदैन । २०६४ मा माओवादीको दबदबा रहेको अवस्थामा समेत एमालेले जित निकालेको क्षेत्र हो यो । यो क्षेत्रमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्तारुढ गठबन्धनको ६० हजार ६०२ र नेकपा एमालेको ४५ हजार ५१४ छ । त्यस्तै राप्रपाको दुई हजार ३५४ छ ।

सिन्धुपाल्चोक

२०७४ सालको चुनावमा सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरे । क्षेत्र नं १ मा नेकपा माओवादी र क्षेत्र नं २ मा एमालेले जित निकालेको थियो । अहिले सिन्धुलाल्चोक १ मा एमालेका उम्मेदवार सरेश नेपाल र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका माधव सापकोटा ९सुबोध० प्रमुख प्रतिस्पर्धीका रूपमा छन् ।

स्थानीय चुनावमा वडाध्यक्षहरूको मतका आधारमा कांग्रेस ठूलो दल हो ।कांग्रेसले ३४ हजार ९ सय ६१ मत ल्याउँदा एमालेले २६ हजार ५ सय ५९ मत ल्याएको थियो । जिल्लाको तेस्रो शक्तिका रूपमा रहेको माओवादीले १९ हजार ३ सय ३४, एकीकृत समाजवादीले २ हजार ३ सय ९१ र राप्रपाले १ हजार २ सय ११ ल्याएको थियो । गठबन्धनका कारण सापकोटा ग्रिन जोनमा देखिन्छन् । माओवादी नेता अग्नि सापकोटाले छाडे पनि सापकोटा परिवारबाट उम्मेदवार बनेकाले उनलाई परिवारको निरुन्तरता भन्ने बुझाइले अप्ठेरो पार्न सक्छ ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यहाँ एमालेको ३१ हजार ७७६, कांग्रेसको २९ हजार ३०२, माओवादीको १६ हजार ७९, राप्रपाको ५ हजार ९३२, र नेकपा एकीकृत समाजवादीको एक हजार ६६३ मत छ । यस आधारमा यहाँ कांग्रेसका बस्नेत १७ हजार ७४२ मतले अघि देखिन्छन् । क्षेत्र परिवर्तन गरेकाले कांग्रेसका उम्मेदवार बस्नेतलाई अप्ठेरो पर्न सक्छ । गठबन्धनको मत काटिएको अवस्थामा पनि सहज अजस्थामा भने देखिन्छन् । एमालेका तामाङलाई जनजाति बहुल क्षेत्र भएकाले सहज हुनसक्छ ।

दोलखा

एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा २०७४ को निर्वाचनमा एमालेले जित निकालेको थियो । त्यतिबेला झण्डै २५ हजार मतान्तरले विजयी भएको एमाले अहिले पनि बलियो छ । २०७४ को चुनावमा वाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले ५५ हजार ४५७ मत ल्याएका थिए भने कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत ल्याएका थिए ।

अहिले गठबन्धनको तर्फबाट माओवादीका गंगा कार्की र एमालेबाट बालकृष्ण शिवाकोटी मैदानमा छन् । शिवाकोटीले पार्वत गुरुङ र पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललाई पछि पार्दै टिकट लिएका थिए । कांग्रेसका कार्यकर्ताको असन्तुष्टि व्यवस्थापन गर्न कार्कीलाई चुनौती छ । शिवकोटीलाई स्थानीय निर्वाचनमा आफ्नै कार्यकर्ताले गरेको अन्तर्घातलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारको मत जोड्दा गठबन्धनको ४८ हजार ७ सय ८२ हुन्छ भने एमालेको ३९ हजार ३ सय २० मत छ ।

नुवाकोट

दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा २०७४ मा दुवैमा वाम गठबन्धनका उम्मेदवारले जितेका थिए । कांग्रेसको पकड रहेको जिल्ला भए पनि २०७४ को निर्वाचनमा १ मा माओवादी र २ मा एमालेले जित निकालेको थियो ।

अहिले नुवाकोट १ मा गठबन्धनबाट माओवादीका हितबहादुर तामाङ र एमालेका बद्री मैनालीबीच मुख्य प्रतिस्पर्धा छ । यसअघि माओवादीका तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा। रामशरण महतले २७ हजार ९२० मत ल्याएका थिए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा छन् ।

तामाङलाई क्षेत्र पाउन कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । उनलाई कांग्रेसको एक खेमाले असहयोग गर्ने तथा पार्टीभित्र पनि अन्र्तभात हुनसक्ने जोखिम छ । गठबन्धनमा रहेको एकीकृत समाजादीको उम्मेदवार जिल्लाभर शून्य हुँदा त्यसको असर गठबन्धनमा पर्नेछ । एमाले उम्मेदवार मैनालीले समाजवादीको मत तान्ने रणनीति बनाएका छन् ।

नुवाकोट २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायण खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार खतिवडाले केसीलाई पराजित गरेका थिए । खतिवडाले ३६ हजार ८ सय ९२ मत ल्याउँदा केसीले २६ हजार ३ सय ३५ मत ल्याएका थिए । अहिले राजनीतिका चतुर खेलाडी केसीविरुद्ध पुरानो इतिहास दोहोर्‍याउन मैदानमा खतिवडा छन् । पहिलोपटक खतिवडासँग हारेपछि बदला लिन केसी मैदानमा छन् ।

केसीलाई नुवाकोटको राजनीतिमा केसी परिवारलेमात्र लाभ लिएको आरोप छ । कांग्रेसभित्र हुने अन्तर्घातले असर पार्न सक्छ । खतिवडालाई एमाले विभाजन अघि माधव नेपाल समूहमा रहेर पार्टी नीतिविपरीत गएको आरोप छ । एमालेको सांगठनिक मत आए पनि उनलाई केसीलाई हराएको इतिहास दोहोर्‍याउन गाह्रो हुनेछ ।

नुवाकोट क्षेत्र नं २ मा पनि वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेस नै अघि देखिन्छ । कांग्रेसले २९ हजार ८ सय ६१ मत प्राप्त गर्दा नेकपा एमालेले २६ हजार ३ सय ६६ मत प्राप्त गरेको थियो । यस्तै, माओवादी केन्द्रको १६ हजार ६७ मत छ । त्यस्तै, राप्रपाले २ हजार २ सय ११ र एकीकृत समाजवादीले जम्मा ९ सय ६१ मत प्राप्त गरेका थिए । कांग्रेस र मओवादीको मात्र मत जोड्दा ४५ हजार ९२८ हुन आउँछ ।

चितवन

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले बाजी मारेको थियो ।

अहिले चितवन–१ मा कांग्रेसका विश्वनाथ पौडेल र एमालेका सुरेन्द्र पाण्डे तथा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एकीकृत समाजवादीको ४ हजार ५ मत रहेको स्थानीय तहको निर्वाचनले देखाएको छ । यस आधारमा गठबन्धनको साथ रहेका कांग्रेसका पौडेलभन्दा पाण्डे ९ हजार ६९० मतले पछि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ बाट प्रतिस्पर्धामा रहेकाले त्यसको प्रभाव चितवनभरि छ । चितवनलाई आर्थिक राजनधानी बनाउने स्वतन्त्र पार्टीको प्रस्तावले पनि चितवनवासी सकरात्मक बनेका छन् ।

चितवन–२ मा कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा एमालेको ३५ हजार ५४३, कांग्रेसको २४ हजार ५३१, माओवादीको ७ हजार ३७४, नेकपा एकीकृत समाजवादीको ३ हजार ५६९, राप्रपाको २ हजार ११३ र जसपाको ५८ मत छ । यस आधारमा यहाँ सत्तारुढ गठबन्धनको तुलनामा एमाले ६९ मतले अगाडि देखिन्छ ।

चितवनमा लामिछानेको क्रेजले अन्य उम्मेदवालाई छायाँमा पारेको छ । दलबाट आत्रोशित जनमत र नयाँ प्रयोग गर्न चाहाने मतदाताको इच्छा चुनाव अघि देखिन्छ । नागरिकता विवादले विवादमा तानिएका लामिछानेको निर्वाचित भैसकेपछि पनि सांसद पद जान सक्ने भएकाले मतदताले के फैशला गर्छन प्रतिक्षाको विषय बनेको छ । तर उनले पाउने मत सत्ता गठबन्धन र एमालेमै यसअघि गएको मत भएकाले उनी प्रतिस्पर्धामा अगाडि रहेको चर्चा छ ।

चितवन ३ मा गठबन्धनको तर्फबाट डा भोजराज अधिकारी, एमालेले समर्थन गरेका कांग्रेसका बागी दिनेश कोइराला र राप्रपाका विक्रम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहमा वडाध्यक्षहरूको मतमा एमालेले २९ हजार ७७१, नेपाली कांग्रेसले २९ हजार ३४३, माओवादी केन्द्रले १० हजार ९४०, राप्रपाले ६ हजार १९८, एकीकृत समाजवादीले ५ हजार ३७ र स्वतन्त्र तथा अन्य पार्टीले ३ हजार ५५९ मत पाएका छन् ।

यो क्षेत्रमा एमालेले कोइराललाई मत दिँदा र उनले कांग्रेसबाट मत तान्न सकेमा पल्ला भारी बन्नेछ । कांग्रेसको भोट तीनतिर बाँडिने हुँदा नजिता के हुन्छ भन्न नसककिने अवस्था छ । यसअघि यहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४८ हजार २७६ मत सहित विजयी भएका थिए। उनका निकट्तम प्रतिद्वन्द्वी तत्कालीन राप्रपा ९प्रजातान्त्रिक०का विक्रम पाण्डेले ३८ हजार ९३५ भोट पाएका थिए ।

धादिङ

२०७४ को निर्वाचनमा क्षेत्र नं। १ मा एमालेबाटै विजयी भएका भूमिप्रसाद त्रिपाठी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेसँगको चुनावी प्रतिस्पर्धामा छन्। २०७४ मा त्रिपाठी ४९ हजार एक सय २१ मत ल्याई विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार नौ सय ६८ मत पाएका थिए।

स्थानीय तहको चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार एमालेले ३९ हजार पाँच सय ५०, राप्रपाले एक हजार चार सय ४४ र गठबन्धनरहेका दलले ४८ हजार नौ सय ५४ मत प्राप्त गरेका थिए। अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन्। यी दुई दलको मत ४० हजार नौ सय ९४ हुन आउँछ भने गठबन्धनतर्फ ४८ हजार नौ सय ५४ मत रहेको छ। सोही मतलाई हेर्ने हो भने सत्तारूढ गठबन्धन सात हजार नौ सय ६० मतले अघि देखिन्छ ।

धादिङलाई एमालेले आफ्नो भोट बैंक नै ठान्छ । उसो त २०७४ को निर्वाचनमा राम्रो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी भए । तर, अहिले एमालेमा फुटको असर छ । जिल्लाका प्रभावशाली नेताहरू एकीकृत समाजवादीमा जानुले पनि यसपाली धादिङमा एमालेलाई कठिन देखिन्छ ।

धादिङ–२ मा सत्ता गठबन्धनबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र एमालेका खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

वडाध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत ४७ हजार ८ सय १ हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार २ सय २५ मत हुन आउँछ ।

स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनप्रतिको वितृष्णा र गठबन्धन दलहरूमा भएको केही असहमतिका भोटहरू आफूले ल्याएर चुनाव जित्ने लोहनी दाबी गर्छन् । त्यस्तै, रामनाथ अधिकारी गठबन्धनबाहेक आफ्नो इमानदारी, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दाबी गर्छन् ।

रसुवा

रसुवामा गठबन्धनबाट कांग्रेसका मोहन आचार्य र एमालेबाट छोवाङ तेन्जिङ तामाङ मैदानमा छन् । स्थानीय निर्वाचनमा रसुवामा २७ वटा वडामा कांग्रेसका वडाध्यक्षहरूले पाएको मत ११ हजार ८ सय ३९ छ । एमालेका वडाध्यक्षहरूले पाएको मत ११ हजार ४० मात्र छ । गठबन्धनकाने उम्मेदवार आचार्यलाई पछाडि पार्न एमाले रसुवाका संस्थापक नेता तामाङलाई गाह्रो पर्ने देखिन्छ ।

सिन्धुली

सिन्धुली १ मा कांग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रदिप कटुवालबीच प्रतिस्पर्धा हुने भएको छ । स्थानीय तहको चुनावमा एमालेका वडाध्यक्ष उम्मेदवारले २८ हजार ६२० मत प्राप्त गर्दा कांग्रेसले २८ हजार १७ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले १३ हजार ३६९ मत प्राप्त गरेको छ भने एकीकृत माजवादीको १८७ मत छ ।

यसआधारमा सत्ता गठबन्धनको ४१ हजार २७३ मत हुन्छ भने एमाले १२ हजार ६५३ मतले पछाडि छ । घिमिरे नेकपा एमालेको २५ वर्षे विरासतलाई यसपटक तोडेर आफू सांसद बन्ने दौडमा छन् ।

माओवादीको गढ मानिएको सिन्धुली– २ मा यो पटक माओवादी र पूर्वमाओवादीबीच भिडन्त छ । माओवादीबाट लेखनाथ दाहाल ९राजन० र एमालेबाट उठेका पूर्वमाओवादी मनोजजंग थापा चुनावी मैदानमा छन् ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा एमालेको २१ हजार ४५५ रहेको छ भने कांग्रेसको १९ हजार १२८ र माओवादी केन्द्रको १९ हजार ४८८ रहेको छ । सत्ता गठबन्धनभन्दा एमाले १७ हजार १६१ मतले पछाडि छ ।

रामेछाप

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० र एमालेका कैलाशप्रसाद ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय तह चुनावमा कांग्रेस एक्लैले ४१ हजार ५१ मत प्राप्त गरेको थियो ।

एमालेले ३९ हजार ३३ मत ल्याउँदा माओवादीले २७ हजार ३९ मत ल्याएको थियो । एकीकृत समाजवादीले १ हजार ५७० र राप्रपाले ९३५ मत प्राप्त गरेका थिए । स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने रामेछापमा कान्छाराम ३० हजार ६२७ मतले अघि देखिन्छन् ।

मकवानपुर

मकवानपुरको क्षेत्र नम्बर १ मा यसअघि चुनाव निजतेका तीन उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

स्थानीय तहको चुनाका आधारमा एमालेको मत ३८ हजार ५६ छ । नेपाली कांग्रेसले ३४ हजार ७२ मत ल्याएको छ । माओवादी केन्द्रको १६ हजार ५ सय ४२ र नेकपा एकीकृत समाजवादीको ३ हजार २ सय ८३ मत छ । राप्रपाले ४ हजार ७० मत मात्रै पाएको छ । यसरी यहाँ गठबन्धनको मत अरूको भन्दा धैरै छ ।

मकवानपुरको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव विरोध खतिवडा र एमालेका महेश बर्तौलाबीच प्रतिस्पर्धा हुने देखिएको छ । खतिवडाकै स्कुलिङबाट राजनीतिमा आएका बर्तौला र खतिवडाबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।