Bagmati Samachar Logo

माओवादीको लक्ष्यः सन् २०३० सम्म दिगो विकास हासिल

काठमाडौं । नेकपा माओवादी केन्द्रले संयुक्त राष्ट्र संघले अघि सारेको दिगो विकासको लक्ष्य सन् २०३० सम्ममा हासिल गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेको छ ।

निरपेक्ष गरिबी, भोकमरी, निरक्षरता, अस्वस्थता र असमानताको अन्त्य जस्ता पवित्र तर चुनौतीपूर्ण लक्ष्य हासिल गर्ने गरी सामाजिक–आर्थिक रूपान्तरणका नीति तथा कार्यक्रमहरू अघि बढाइने घोषणापत्रमा उल्लेख छ ।

सोमबार सार्वजनिक घोषणापत्रमा माओवादी केन्द्रले शिक्षा विकासका लागि आवश्यक सबै पूर्वाधारहरूको पनि प्रमुख पूर्वाधार भएकाले यसमा राज्यले गर्ने लगानीमा गुणात्मक वृद्धि गर्ने उल्लेख गरेको छ ।

‘शिक्षाले व्यक्तिको जीविकोपार्जन, मानव संशाधनको पूर्ति र गरिबी निवारणमा महत्वपूर्ण योगदान पु¥याउँछ । तर, शिक्षालाई यसमा मात्र सीमित गरिने छैन । शिक्षाको अभिमुखीकरण असल–चेतनशील एवम् विवेकशील–स्वतन्त्र मान्छे, जिम्मेवार नागरिक, दक्ष जनशक्ति निर्माण, जीविकोपार्जन र समृद्धिका निम्ति शिक्षा भन्ने मान्यतामा अघि बढाइने छ । ‘जीवनका लागि शिक्षा’ यसको मूल सार हुनेछ,’ घोषणापत्रमा भनिएको छ ।

शिक्षाका साथै स्वास्थ्यलाई राज्यले आफ्नो जिम्मेवारीमा लिई प्राथमिकतामा राख्ने माओवादीले जनाएको छ । स्वास्थ्य सेवाअन्तर्गत उपचारात्मकका साथै निरोधात्मक पक्षमा पनि जोड दिने माओवादीको प्रतिबद्धता छ ।