माओवादी केन्द्रको विदेश नीतिः राष्ट्रिय सुरक्षा र स्वाधीनता रक्षामा केन्द्रित
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपालको विदेश नीति राष्ट्रिय हित, शान्ति क्षेत्र र पञ्चशील सिद्धान्तका आधारमा हुने उल्लेख गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पार्टी कार्यलय कोटेश्वरमा मंसिर ४मा हुने संघ र प्रदेश सभाको चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा परराष्ट्र नीति अवलम्बन गर्दा नेपालको आत्म निर्णयको अधिकार, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षालाई सर्वोपरी स्थान दिइने माओवादीको प्रतिबद्धता छ ।
‘विश्वको शान्ति, पञ्चशीलको सिद्धान्त र असंलग्नता, संयुक्त राष्ट्र संघको बडापत्र र राष्ट्रिय हित तथा स्वार्थद्वारा परराष्ट्र नीति निर्देशित हुनेछ,’ घोषणापत्रमा भनिएको छ । नेपाली भूमिलाई कुनै पनि छिमेकी मुलुकविरुद्ध दुरुपयोग गर्न नदिने माओवादीको प्रतिबद्धता छ ।
नेपाललाई कुनै पनि मुलुकसँगको दुईपक्षीय वा बहुपक्षीय सैन्य गठबन्धनमा सहभागी नगराउने माओवादीको संकल्प छ । ‘भूराजनीतिक अवस्थालाई ध्यानमा राखी दुई छिमेकी मुलुकसँग मैत्रीपूर्ण तथा घनिष्ठ सम्बन्ध स्थापित गरिने छ । नेपाली भूमिलाई कुनै पनि छिमेकी मुलुकविरुद्ध दुरुपयोग गर्न दिइने छैन । कुनै पनि प्रकारको वैदेशिक सैन्य गतिविधिबाट मुक्त गरी नेपाललाई शान्ति क्षेत्रको रूपमा स्थापित गरिने छ र नेपाललाई कुनै पनि मुलुकसँगको दुईपक्षीय वा बहुपक्षीय सैन्य गठबन्धनमा सहभागी गराइने छैन,’ घोषणापत्रमा भनिएको छ ।
परराष्ट्र मामिला तथा कूटनीतिका क्षेत्रमा काम गर्ने सरकारी निकायहरूलाई समय–सापेक्ष रूपमा अत्याधुनिक, दक्ष र व्यवस्थित बनाई थप सुदृढ र विकसित गर्ने माओवादीको प्रतिबद्धता छ । गोर्खा सैनिकहरूको समान कामको समान ज्याला तथा सुविधाको मागलाई सम्बोधन गराउन सक्रिय पहल गर्ने माओवादीको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस्: