Bagmati Samachar Logo

मंसिर ४ पछि एमालेको सरकार बन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टीको नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको आदिवासी जनजातिसँगको अन्तर्क्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ मा बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने दाबी गरे ।
उनले जनताको फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले तीव्रता पाउने आश्वासन दिँदै त्यसका लागि गाउँगाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास र निर्माणको आशा गर्नु बेकार हुने पनि बताए ।

अध्यक्ष ओलीले निर्वाचनको बेला जनतालाई अल्मल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप समेत लगाए । अध्यक्ष ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको बताए । उनले सबै जाति, भाषा र संस्कृतिको विकासका लागि एमालेले काम गर्ने गरेको बताए ।