Bagmati Samachar Logo

प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन, माओवादीको उम्मेदारी यथावत

काठमाडौं । रौतहट ३ बाट सघंमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। साहलाई नेकपा (एमाले) ले टिकट दिएको थियो तर दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेको टिकट पाएका साहले टिकट होलड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा एमाले उम्मेदवारविहीन बनेको छ। उनी एमाले स्थायी कमिटी सदस्य थिए।

नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय गरेको छ । रौतहट ३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए।

यसअघिका तीन वटा निर्वाचन माओवादी केन्द्रबाट जितेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्छन्। सोही क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उनकी श्रीमती रिना साहले यसपालि दोस्रो पटक मेयर जितेकी छन्। २०७४ को चुनाव माओवादीबाट जितेकी उनी यसपालि एमालेबाट विजयी भएकी हुन्।

सशस्त्र युद्धका बेला नै भूमिगत भएका साह २०६४ र २०७० को संविधान सभामा र ०७४ मा प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। साह तीन पटक मन्त्री भएका थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी ओली सरकारको मन्त्री बनेका थिए।

माओवादी केन्द्र र एमालेको एकतालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि साहले एमाले रोजे। एमाले रोजेकै कारण माओवादी केन्द्रले उनको सांसद पद खारेज गरेको थियो।

साह एमालेको चितवनमा भएको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका थिए । मधेस प्रदेश र विशेषगरी रौतहटको निर्वाचनमा प्रभाव पार्न सक्ने भएकाले माओवादी केन्द्रले उनलाई समर्थन गर्न सक्ने बताइएको छ।

स्वतन्त्र उम्मेदवार बनेका साहले चापाकल चुनाव चिन्ह पाएका छन्।