Bagmati Samachar Logo

माओवादीका पदाधिकारीहरू, जसलाई पार्टीले दिएन टिकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केही पदाधिकारी र उच्च तहका नेताहरूले अन्तिम समयमा आएर टिकट पाएनन् ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले पनि टिकट पाएका छैनन् । महरा दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने तयारीमा थिए । उनको नाम समानुपातिक बन्द सूचिमा राखियो । अन्तिम समयमा आएर समानुपातिकको बन्द सूचिबाट नाम हटाइयो । महराको क्षेत्रबाट माओवादीले रेखा शर्मालाई टिकट दिएको छ ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अन्तिम समयमा आएर टिकट पाएनन् । शनिबारसम्म सिन्धुली क्षेत्र नं. २ बाट टिकट पाउनेमा ढुक्क भएका गजुरेल आइतबार बिहान नै टिकट नपाउने सूचीमा परेका छन् ।

सिन्धुली क्षेत्र नं. २ बाट राजन दाहालले टिकट पाएको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले बताए । उनले भने, ‘दाहालले सिन्धुली क्षेत्र नं. २ बाट टिकट पाएका छन् । उपमहासचिव हरिबोल गजुरेलले पार्टीको काम गर्नुहुन्छ । युवालाई पार्टीले अबसर दिएको हो । सिनियर नेतृत्व पार्टीको काममा लाग्दा युवाहरू संसदीय मोर्चामा अवसर पाउन थालेका हुन् ।’

माओवादी केन्द्रकै सचिव सुरेन्द्र कार्कीले पनि अन्तिम समयमा आएर टिकट पाएका छैनन् । ०७४ सालमा झापा क्षेत्र नं. १ बाट वाम गठबन्धनबाट चुनाव जितेका थिए । कार्कीले योपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । सत्ता गठबन्धनमा जसले जुन क्षेत्र जितेको छ, त्यही क्षेत्र उक्त दललाई दिने सहमति भएको पनि थियो । तर, कांग्रेसका महामन्त्री विश्वप्रकाशले पनि उक्त क्षेत्रबाट नै चुनाव लड्ने भएपछि कार्कीलाई टिकट दिइएन ।

उसो त कार्कीले झापाबाट टिकट नपाए ओखलढुङ्गाबाट टिकट पाउने चर्चा चलेको थियो । तर, ओखलढुङ्गामा पनि भागवण्डामा कांग्रेसको भाग परेको छ । अघिल्लो पटक जितेर पनि टिकट नपाउनेमा माओवादीका नेतामा कार्की पनि परेका छन् ।

माओवादीका सचिव हितमान शाक्यले पनि टिकट पाएनन् । उनी पनि काठमाडौं क्षेत्र नं. ३ बाट चुनाव लड्ने तयारीमा थिए । अन्तिमा उनले पनि गठबन्धनका कारण टिकट पाएका छैनन् । बरु क्षेत्र नं. २ बाट ओनसरी घर्तीले टिकट पाएकी छन् । शाक्यले भने टिकट पाउन सकेनन् ।

सचिव गणेश साहले पनि टिकट पाएनन् । उनी माओवादीमा चुनाव नलड्ने नेतामा पर्छन् । त्यस्तै अर्का सचिव लीलामणि पोखरेल पनि चुनाव नलड्ने नेतामा पर्छन् ।