Bagmati Samachar Logo

अग्नि सापकोटाले चुनाव नलड्ने घोषणा

काठमाडौं । शनिबार प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नि सापकोटाले पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरे । अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने उनले पत्रकार सम्मेलनमा बताए । आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उनले दाबी गरे ।

सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षण मन्त्रीसमेत भए ।

शनिबार पत्रकार सम्मेलनमा चुनाव हार्ने डरले अन्तिम समयमा यस्तो निर्णय लिनुभएको हो ? भन्ने प्रश्नमा सापकोटाले भने, ‘त्यस्तो बिलकुल होइन । मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर, युवाहरूकै लागि भनेर यो पहलकदमी लिएको हुँ ।’

चुनावी प्रतिस्पर्धामा भाग नलिए पनि जिन्दगीको अन्तिम घडीसम्म आफू सक्रिय रहने बताए । आफ्नो निर्णयले राजनीतिमा नयाँ रक्तसञ्चार गर्ने पनि उनको दाबी छ । एक वर्षदेखि युवाहरूलाई अघि सार्नुपर्ने भन्ने विचार आफूमा पैदा भएको पनि उनले बताए ।

युवाहरू भनेर छोराहरूलाई अघि सार्ने दाउ हो कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरा तीन छोराहरू आआफ्नो पेसामा छन् । उनीहरू तत्काल राजनीतिमा जाँदैनन् । एकाघरका छोराहरूबाहेक अरूको विषयमा भन्न सक्दिनँ ।’

सापकोटाले चुनावमा नलड्ने निर्णय गर्नु युवालाई स्थान दिनु नै रहेको माओवादी नेता बताउँछन् । सिन्धुपाल्चोक १ क बाट उम्मेदवारमा सिफारिस माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री युवाहरूलाई छाड्नु खुसीको कुरा रहेको बताउँछन् । ‘युवालाई छोड्नुभयो यो हाम्रा लागि खुसीको कुरा हो ।’ सहयात्रीले भने, ‘युवाहरू अघि बढ्नुपर्छ । म अभिभावकीय भूमिकामा बस्छु भन्नु भएको छ । हाम्रो सल्लाह नै यहि हो ।’ अब प्रतिनिधिसभामा माधव सापकोटा सुवोध माओवादी केन्द्रबाट उम्मेदवार बन्नेछन् ।

माओवादीमा गुटको राजनीति

सापकोटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका किचन क्याबिनेटका व्यक्ति हुन् । माओवादी अध्यक्ष प्रचण्ड रिफ्रेस हुन सुकुटे बिच पुग्छन् । त्यसको बन्दोबस्त मिलाउने र सँगै रहन्थे सापकोटा । प्रदेश क मा टिकट पाउने निश्चित भएका सहयात्री वर्षमान पुन निकटका व्यक्ति हुन् । सिन्धुपाल्चोकको राजनीति आफू अुनुकुल पार्न सापकोटाका लागि परिवारका सदस्य माधव उपयुक्त पात्र थिए । फरक गुटको प्रभाव पर्ने र इन्ट्रेस्टको राजनीति हुने हुँदा पहुँच बनाइराख्न सापकोटा चाहान्छन् ।

विकल्प धेरै

तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले दुईपटक संसद विघटन गर्दा सभामुख भएर थेग्ने संवैधानिक पदमा आसिन व्यक्ति थिए सापकोटा । माओवादीबाट सभामुख भएका उनले रक्षात्मक नीति लिएका थिए । आलोचित भएर पनि मुख खोलेनन् । ९ महिनासम्म एमालेले उनको राजीनामा मागेर संसद अवरोध गर्‍यो । त्यो पनि मुख नखोली पचाए ।

प्रचण्डको किचन क्याबिनेटका भएकाले पार्टीको सक्रिय राजनीतिमा आउन उनलाई समस्या छैन । पार्टी नेतृत्वको उत्तराधिकारी बनाउने पात्र प्रचण्डले खोजिरहेका छन् । पार्टीमा उनले पदाधिकारीमध्ये कुनै पद पाउन सक्छन् । द्वन्द्वकालीन मुद्दा लागेका उनी पदमा नभए जोगिन मुस्किल पर्ने देखिन्छ । पार्टीमा स्थान नपाए उपराष्ट्रपति पद, राष्ट्रियसभालगायतका पदसमेत पाउन सक्छन् ।