Bagmati Samachar Logo

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरी भ्यानसहित प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए ।

उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् ।

उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।