Bagmati Samachar Logo

राष्ट्रपतिमाथि उपराष्ट्रपतिले उठाए प्रश्न, भने संविधानको दायराभन्दा बाहिर जाने छुट छैन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पनुले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्रश्न उठाएका छन् । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाइरहेका बेला उपराष्ट्रपति पुनले पनि प्रश्न उठाएका हुन् ।

बुधबार विज्ञप्ति जारी गरी उनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकालाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् ।

संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै उनले संविधानको पालन र संरक्षणका लागि सबैलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले संविधान अनुसार सबैले आआफ्नो कर्तव्य पालना गर्नुपर्ने बताएका छन् ।

ुसंविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ(आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण गर्नुपर्दछ,ु उनले भनेका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालना नभएको आवाज उठ्नु दुखद् भएको बताएका छन् ।

पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुखद् पक्ष हो, उनले भनेका छन् ।