श्रीलंकालाई ६–० ले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा भुटान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट श्रीलंका भने बाहिरिएको छ । श्रीलंका यसअघि भुटानसँग पनि ५–० गोलले नै पराजित भएको थियो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि अमिशा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले समान १–१ गोल गरिन् ।

खेलको आठौँ मिनेटमा अनिता बस्नेतले डीबक्सबाहिरबाट गरेको प्रहार श्रीलंकाकी गोलकिपरले बचाएपछि नेपालले अग्रता बनाउन चुकेको थियो । तर, खेलको नवौँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाइन् ।
यसको दुई मिनेटपछि नै सरु लिम्बुले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाइन् । खेलको १७औँ मिनेटमा अमृता जैसीले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रतामा पुर्याइन् ।
खेलको ४५औँ मिनेटमा अनिता बस्नेतले क्रस पास दिएको बललाई रश्मीकुमारीले हेड गर्दै गोल गर्ने प्रयास गरिन् तर उनले गरेको हेडर श्रीलंकाकी गोलकिपर योहानी विरासिंघेले बचाइन् ।
पहिलो हाफको अन्तिम समयमा अनिता केसीले गोल गर्ने राम्रो मौका गुमाइन् । तर, पहिलो हाफको अतिरिक्त समयमा दीपा शाहीले गोल गर्दै नेपाललाई पहिलो हाफसम्म ४–० गोलको अग्रता दिलाइन् । उनको यो डेब्यु गोल हो । यसअघि भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा उनले डेब्यु गरेकी थिइन् ।
खेलको ५५औँ मिनेटमा दीपा शाहीले डिबक्सबाहिरबाट प्रहार गरेको बल क्रसबारभन्दा थोरै माथिबाट बाहिरिएको थियो । खेलको ६३औँ मिनेटमा सरुले गरेको क्रसमा अनिता बस्नेतले गोल गर्ने राम्रो अवसर गुमाइन् । डिबक्सभित्र पाएको बललाई प्रहार गरे पनि अनिताले गोल गर्न सकिनन् । योसँगै नेपालले पाँच गोलको अग्रता बनाउने राम्रो मौका गुमायो । नेपालले दोस्रो हाफमा गोल गर्ने एकपछि अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन ।
खेलको ७६औँ मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन् । खेलको अतिरिक्त समयमा अमिशाले नै उत्कृष्ट गोल गरिन् । उनले झण्डै मध्यभागबाट एक्लैले श्रीलंकाका डिफेन्डरलाई छक्याउँदै बल लगेर गोल गरिन् ।
योसँगै नेपालले श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्: