Bagmati Samachar Logo

एमाले मधेश प्रदेशमा कति सिट जित्छ भनेर रघुवीर र ओलीबीच सवाल जवाफ

काठमाडौं । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा एमालेका मधेश प्रदेश इन्चार्ज रघुीर महासेठले १० सिट जित्ने बताए पछि ओलीले अरु २२ सिट कसलाई छोड्ने हो भन्दै प्रश्न गरेका छन् ।

सोमबार जनकपुरमा भएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महासेठलाई यस्तो प्रश्न गरेका हुन् । ओली अघि बोलेका महासेठले मधेस प्रदेशमा एमालेले १० सिट जित्ने दाबी गरेका थिए ।

‘रघुवीरजीले अघि २ नम्बर प्रदेशमा १० भन्दा कम जित्दैनौ भन्नुभयो’, ओलीले प्रश्न गर्दै भने, ‘अनि २२ वटा सिट कसलाई छोड्ने त ?’ अध्यक्ष ओलीले एमालेमा पार्टी प्रवेशको लहर चलेको भन्दै अब सवै पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेर अरु पार्टी रित्तिने दावी गरे । उनी त्यतिमै रोकिएनन् अगाडि भने आफ्ना कार्यकर्ता कसैलाई जोगाउन मन भए जोगाउनु । उनले भने, ‘आफ्ना पार्टीका कार्यकर्ता थमाउन सक्छौ भने थमाउ, होइन भने कमेरे माटोको पहिरो जस्तो हुनेछ ।’

उनले पार्टी प्रवेश गरेकाहरूलाई दुरुपयोग नगर्ने भन्दै एमालेले देश विकासमा लगाउने बताए । ‘मंसिर ४ को निर्वाचनले यस देशको भाग्य भविष्यको फैसला गर्नुपर्नेछ’, ओलीले भने, ‘देशलाई अधोगतितिर गठबन्धनले लगेको छ, त्यसलाई रोक्नुपर्छ ।’