Bagmati Samachar Logo

सीट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझायो, केही क्षेत्रमा त्रिपक्षीय दाबी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको हो ।

कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दावीसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिवेदनमाथि छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनउपर आज पनि शीर्ष नेतृत्वसँग लामो छलफल भएको छ भने यो क्रम शुक्रबार पनि जारी रहनेछ ।