Bagmati Samachar Logo

साफ महिला च्याम्पियनशिपः नेपालको विजयी सुरुवात, भुटानलाई ४—० ले हरायो

काठमाडौं । आयोजक नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरिन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

सावित्रा भण्डारीले खेलको १२औँ मिनेटमा गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाइन् । खेलको ३५औँ मिनेटमा भुटानले गोल गर्दै खेलमा फर्किने राम्रो अवसर पाएको थियो । पेमा चोडेन छिारिङले दिएको क्रसलाई सुनिता राईले गोल गर्ने राम्रो अवसर गुमाइन् ।

पहिलो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर खेर फाल्यो । ४७औँ मिनेटमा सावित्राले दिएको ब्याक पासमा डेब्यु खेलाडी दीपा शाहीले प्रहार गरेको बल पोष्ट भन्दा माथिबाट बाहिरिएको थियो । योसँगै नेपालले २–० गोलको अग्रता बनाउनबाट चुकेको थियो । खेलको ५७औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्ने राम्रो मौका गुमाइन् । अनिता बस्नेतले दिएको क्रस पासमा सावित्राले हान्ने प्रयास गरेपनि खुट्टामा लागेन ।

६४औँ मिनेटमा अनिता बस्नेतले तीन जना खेलाडीलाई छक्याएर प्रहार गरेको बल पोष्टभन्दा अलिक परबाट बाहिरियो । खेलको ६८औँ मिनेटमा सावित्राले वान भर्सेस वानमा गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाइन् ।

खेलको ७३औँ मिनेटमा अनिताले डिबक्सबाहिरबाट सुन्दर गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाइन् । खेलको ७५औँ मिनेटमा समीक्षा घिमिरेले डेब्यु गरिन् । उनले हीरा कुमारी भुजेलको स्थानमा मैदानमा प्रवेश गरिन् । खेलको ८४औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाइन् ।

समूह ‘बी’ मा रहेको नेपालले अब समूह चरणको आफ्नो अन्तिम खेल श्रीलंकाविरुद्ध २७ गते खेल्नेछ । समूह ‘ए’ मा भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । बुधबार हुने पहिलो खेलमा पाकिस्तान र भारतले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश खेल्ने छन् ।