खल्तीबाट सिफारिस गरिएका उम्मेदवार स्वीकार्य हुन्न,महिलालाई प्राथमिकता दिनु : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन्।
यदि पालिकाको सिफारिस नलिइ नाम सिफारिस गरिए नमान्ने उनले चेतावनी दिए। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उम्मेदवार छान्ने मापदण्ड पनि बताइदिए।
प्रचण्डले उम्मेदवारको नाम सिफारिस गर्दा महिला नेतालाई प्राथमिकता दिन निर्देशन दिए।
उनले समानुपातिक पुरुषका लागि पनि भएको बताए। ‘अहिले महिलालाई प्रत्यक्षमा टिकट नदिँदा समानुपातिकमा ३३ प्रतिशत पुर्याउन महिला मात्र हुने अवस्था आयो,’ प्रचण्डले भने, ‘महिला नेता छन् र जित्ने सम्भावना छ भने प्राथमिकता दिनुपर्छ।’ प्रचण्डले समानुपातिक उम्मेदवारलाई पनि प्रचार गरेर चुनावी अभियानमा लैजाने बताए।
उनले जित्ने अवस्था भएका दलित, मधेसी र थारु महिलालाई प्राथमिकता दिन सुझाव दिए। उत्पीडित समुदायबाट उम्मेदवार सिफारिस गर्न प्राथमिकता दिनुहोला,’ प्रचण्डले थपे।
उनले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताए। खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न,’ प्रचण्डले भने, ‘पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म (२३ भदौ)केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्: