Bagmati Samachar Logo

जेलमा रहेका मोहम्मद अफताव आलम कांग्रेसबाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट जेलमा रहेका मोहम्मद अफताव आलमलाई उम्मेदवार सिफारिस गरेको छ। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ।

उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए।

स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो।

उक्त घटनामा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको परिवारका सदस्यहरूले आरोप लगाउँदै आलममाथि किटानी जाहेरी दिएका थिए।