सूदुरपश्चिममा एसका दुई सांसद एमाले फर्किए, फेरियो संसदीय अंकगणित
काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका भौतिक पूूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी लगायतका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट चौधरी आजै हटाइएका हुन् । चुनावको मुखमा नेकपा एसबाट नेताहरू एमाले फर्किएसँगै सुदूरपश्चिममा एमालेलेकेहि शक्ति आर्जन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री तारा लामा तामाङ, समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायतका नेताहरू बुधबार एमाले प्रवेश गरेका छन् । बुधबार कञ्चनपुर पुगेका नेकपा एमालेका पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
यस्तै माओवादी केन्द्रबाट शंकरदत्त जोशी, मोहन गिरी , कल्पना गिरी लगायतका नेताहरू एमाले प्रवेश गरेका छन् ।
सुदूरपश्चिममा पहिलो दल बन्यो माओवादी
एमाले विभाजन भएर नेकपा (एस) गठन भएपछि दल रोज्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस) १४ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको थियो । तर, अब प्रदेशसभामा सो पार्टीका १२ सदस्य मात्रै बाँकी रहेका छन् ।
प्रदेशसभामा अब नेकपा माओवादी केन्द्र १३ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै कांग्रेस ११ र एमालेमा १० जना प्रदेश सदस्य रहेका छन् । यस्तै जसपा र लोसपाका एक एक जना प्रदेश सदस्य रहेका छन् । नेकपा एसका २ जना एमालेतर्फ लागेपछि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बनेको हो ।
हाल प्रदेशसभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन् ।
१४ प्रदेशसभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका २ सदस्य निलम्बनमा परेमा अब एससँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन् । २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै माओवादीसँग १३ जना मात्रै थिए ।
२०७४ को निर्वाचनपछि २४ प्रदेशसभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित हुँदा १४ प्रदेशसभा सदस्यसहित नेकपा एस प्रदेशसभाको ठूलो दल बनेको थियो ।
५३ प्रदेश सदस्य रहेको प्रदेशसभामा थप दुईजना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । ५३ मध्ये एकजना सभामुख र एकजना उपसभामुख रहेका छन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्: