यही गठबन्धनकै आधारमा चुनावमा जान्छौँ, अर्को बन्न सम्भव छैन : प्रचण्डले
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावमा जाने स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्को गठबन्धन बन्न सम्भव नरहेकाले यही गठबन्धनकै आधारमा चुनावमा जाने बताएका हुन् । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म यो गठबन्धन रहन्छ कि रहँदैन, अर्को वाम गठबन्धन बन्ने हो कि भन्ने कुरा आएका छन्,’ उनले भने, ‘कोही अन्योलमा नपर्नुहोला, अहिले अर्को गठबन्धन बन्न सम्भव छैन ।’
प्रचण्डले प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म एमालेसँग कुनै पनि सहकार्य नहुने बताए । ‘जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन, तबसम्म यही गठबन्धनका आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अगाडि बढाउँछौँ । अर्को गठबन्धन बन्न सम्भव छैन,’ उनले भने ।
उनले अघिल्लो चुनावमा कम्युनिष्ट एकता गरेर देशमा राजनीतिक स्थायित्व कायम गरेर देशमा विकासको नयाँ युग सुरु गर्न खोजे पनि केपी ओलीका कारण त्यो सफल हुन नसकेको आरोप लगाए ।
‘हामीले वामपन्थी गठबन्धन मात्रै होइन, कम्युनिष्ट एकता गरेर देशमा राजनीतिक स्थायित्व कायम गरेर देशमा विकासको नयाँ युग सुरु गर्न खोजेकै हो । तर, तीन वर्ष नपुग्दै ओलीले बेइमानी, षड्यन्त्र, छलछाम र पटक–पटक प्रतिगमनका षड्यन्त्र, विघटनका षड्यन्त्र गरेपछि हामी त्योे प्रवृत्तिका अगाडि घुँडा टेकेर आत्मसमर्पण गरेर रहन सक्दैन थियौं र छुट्टियौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्: