Bagmati Samachar Logo

हामी कुनै वाम गठबन्धनको पक्षमा छैनौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले कुनै पनि प्रकारको वाम गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमबार पत्रकारहरूसँगको अन्तरसम्बादमा महासचिव पोखरेलले एमाले आफ्नो नीतिका आधारमा चुनावमा जाने बताएका हुन् । ‘हामी कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं । हामी आफ्नो नीतिका आधारमा चुनावमा प्रस्तुत हुन गइरहेका छौँ,’ उनले भने ।

महासचिव पोखरेलले चुनावमा स्थानीय तहमा भने तालमेल हुनसक्ने बताए । ‘स्थानीय तहमा तालमेल हुनसक्छ, तालमेलबारेमा हामी सदैव खुला छौँ । तर, चुनाव आफ्नो नीतिका आधारमा लड्नुपर्छ भन्ने मान्यताकै पक्षमा छौँ,’ उनले भने ।

उनले गठबन्धनका विषयमा कुनै पनि राजनीतिक दलसँग एमालेले छलफल नगरेको बताए । ‘हामीले कुनै राजनीतिक दलसँग गठबन्धनको कुरा गरेका छैनौं,’ उनले भने, ‘चुनावी तालमेलको कुरा मात्रै गरेका छौँ ।’

उनले नेताहरूले बाटो बिराए छोडेर आफ्नो पार्टीमा आउन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्तालाई आग्रह गरे । ‘नेताहरूले बाटो बिराए भने छोडिदिनुस् नेताहरू र आउनुस् एमालेमा । तपाईं हामी मिलेर बलियो एउटा राष्ट्रिय शक्ति रुपमा एमालेलाई स्थापित गरौँ,’ उनले भने ।

महासचिव पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा समाजवादको यात्रा मजाकको विषयबाहेक अर्को हुन नसक्ने बताए । ‘प्रचण्ड र माधव नेपाल देउवाको नेतृत्वमा समाजवादको कुरा गर्नुहुन्छ, मान्छेले बुझेकै छन्,’ उनले भने, ‘देउवाजीको नेतृत्वमा समाजवादको यात्रा योभन्दा अर्को मजाकको विषय अरु केही हुन सक्दैन ।’

महासचिव पोखरेलले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गरे । उनले वैचारिक, सांगठनिक, र राजनीतिक रुपमा एकताबद्ध भएको बताए । ‘हामीभित्र कुनै मतभेद छैन । वैचारिक, सांगठनिक, र राजनीतिक रुपमा एकताबद्ध छौँ र त्यसकै जगमा मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सफल हुन्छौँ,’ उनले भने ।