Bagmati Samachar Logo

तीजलाई सन्देशमूलक बनाऔं : सामाजिक विकासमन्त्री मोक्तान

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई भड्कीलो र खर्चिलो भन्दा पनि सन्देशमूलक बनाउनुपर्ने बताइन् । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताइन् ।

मन्त्री मोक्तानले पछिल्लो समय महिलाहरु शिक्षित भएकै कारणले हरेक क्षेत्रमा सहभागीता बढेको बताइन् । उनले महिला सहभागीतालाई अझै बढाएर नेतृत्व सम्हाल्न सक्ने अवस्था सिर्जना गर्न समेत महिला दिदीबहिनीलाई आग्रह गरीन ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एंव नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलमाी ‘छिन्तु’ ले हिन्दु नारीहरुले मनाउने तीज धार्मिक, सामाजिक सहिष्णुताका कारण अहिले सबै महिलाहरुले मनाउने गरेको बताए । तर, पछिल्लो समय तीजलाई मौलिकभन्दापनि अरुको देखासिखी गरेर मनाउने चलनले तीजको महत्व कम भैरहेको उनले बताए।

गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकले भने तीजको अवसरमा गरिने दर कार्यक्रमलाई सकरात्मक रुपमा लिनुपर्ने बताइन। अहिलेका महिलाहरु शिक्षित र कुनै न कुनै क्षेत्रमा क्रियाशिल रहने तथा आर्थिक रुपले सक्षम भैरहेकाले पनि तीजका अवसरमा खाइने दरलाई सकरात्मक रुपमै लिनुपनर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सचिव शुभलक्ष्मी विक, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सदस्य भावन रिजाल, फोनिज मकवानपुर उपाध्यक्ष नवराज वाईवा, मेची महाकाली बुहारी समाजका सह संयोजक मन्जु फुयाँल लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा चिनारी सन्देशको अनलाईन संस्करण चिनारी सन्देश डटकमको पनि शुभारम्भ गरिएको थियो ।