यो पटक स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुन्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धन स्थानीय तहको निर्वाचन भन्दा बलियो बताएका छन् । शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने उनले दाबी गरे ।
प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं ।’
उनले स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाउने बताए ।

लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए । प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए ।
डा.बाबुराम भट्टराई, वामदेव गौतम लगायतका नेताहरुले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न तयार हुनुले राम्रो संकेत गरेको प्रचण्डको भनाई थियो ।
प्रचण्डको भनाई उदृत गर्दै माओवादी नेता हकिकुल्ला खांले आगामी प्रदेश र संघको निर्वाचनपछि माओवादी पार्टी थप मजबुद हुने र अन्य पार्टीसँग एकताको काम पनि शुरु हुने बताए । स्थानीय तहको निर्वाचनमा देखिएका कमी कमजोरीबाट शिक्षा लिएर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डले आग्रह गरे ।
अध्यक्ष प्रचण्डले हाललाई एमालेसँग चुनावी तालमेल हुन नसक्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्: