नेकपा एकीकृत समाजवादीको एक वर्ष : सत्तादेखि गुटबन्दीसम्म
काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौंमा पार्टी स्थापना दिवस मनाउने तयारी गरीरहदा सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै शाहिले आजकै मितिबाट पार्टी छोडेको घोषणा गरेका छन् । उनले लेखेका छन् ,‘ गत बर्स पनि पुनर्गठन का नाम मा माधब नेपालको नेतृत्वमा पार्टी बिभाजन भयो । त्यस्को पछि लाग्नेमा म पनि थिए । पार्टी बिभाजनले काग्रेस लगायत पश्चिमा पुजीवादीहरुलाई नै फाइदा पुर्यायो । त्यस बाफत पछुतो र आत्मग्लानी भएको छ । बिगत ५–६ महिना देखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मिति देखि म कुनै दल सङ्ग आवद्ध नरहेको घोषणा गर्दछु ।’
यसको केहि दिन पहिला नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र कांग्रेससहितका लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताएका थिए ।
नेकपा एस बनेको एक बर्ष भएको छ । यो पार्टीले पहिलो स्थापना दिवस मनाएको छ । एक बर्षमा ५ लाख पार्टी सदस्यता वितरण गरिसकेको दाबी यो पार्टीले गरेको छ । २ लाख भन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध रहेका प्रवक्ता खतिवडाले बताए ।
नयाँ दल पुर्नगठन भएको एक वर्ष पुग्दैगर्दा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयसम्म गरेको छ ।
पार्टी पुनर्गठन भएको एक वर्षको अवधिमा गठबन्धनबाट नै स्थानीय तहको निर्वाचनमा भाग लिएको छ । सदस्यता व्यापक बनाइएको एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य दिलु पन्तले बताइन् ।
मन्त्री, मुख्यमन्त्रीदेखि स्थानीय तहमा उल्लेख्य सहभागीता
दुई प्रदेशमा मुख्यमन्त्री पाएको छ । प्रदेश नं. १ र बागमति प्रदेशमा नेकपा एसका मुख्यमन्त्री छन् । केन्द्रमा ४ जना मन्त्री छन् । ४ जना मन्त्री भएर फिर्ता बोलाएको हो । अहिले नेकपा एससंग प्रतिनिधि सभा र राष्ट्रिय सभामा २३ जना सांसद छन् ।
देशका ६ महानगरपालिकामध्ये पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीले प्रमुख जितेको छ ।
त्यस्तै, हेटौंडा उप–महानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीकै मीना कुमारी लामा विजयी भइन् ।
१० नगर प्रमुख, ११ नगर उपप्रमुख, ८ गाउँपालिका प्रमुख, १२ गाउँपालिका उपप्रमुख स्थानीय तहका जनप्रतिनिधि रहेको पार्टी प्रचार विभागले जानकारी दिएको छ ।
माओवादीसँग एकता गर्ने निर्णय
नेकपा एकीकृत समाजवादी पाँच दलीय गठबन्धनमा छ । यो दल आगामी आम निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग एउटै घोषणापत्र बनाएर निर्वाचनमा होमिने तयारीमा रहेको छ ।
चुनावलगत्तै माओवादी केन्द्रसँग एकता गर्ने नेताहरु बताउछन् । देशभरका वामहरुमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीसहित अन्य साना दलहरु समेतलाई एकतामा ल्याउने प्रयास भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
केहि दिन पहिला माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षबीच पार्टी एकताका विषयमा छलफल भएको बताइएको थियो ।
पार्टी जन्मिएको एक वर्ष नपुग्दै एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा सहभागी भएर ९ लाख भन्दा बढी मत ल्याएको उक्त पार्टी प्रचार विभागले जानकारी दिएको छ ।
सातवटै प्रदेशका कमिटी निर्माण, जिल्ला कमिटीदेखि वडातहसम्म कमिटी विस्तार, केन्द्रीय परिषद् बैठक, जनप्रतिनिधिलाई प्रशिक्षण लगायतका कामहरु यसबीचमा पार्टीले संचालन गरेको पन्त बताउछन् ।
पार्टी भित्र गुटबन्दी सुरु
पार्टी पुर्नगठन गरेको छोटो समयमा नै पार्टी भित्र गुटबन्दी सुरु भएको छ । नेताहरु पार्टीको निर्णय अथवा आधिकारीक लाइन भन्दा पनि गुट अनुसार अभिव्यक्ति दिदै आएका छन् ।
स्थानीय तहको निर्वाचनमा झलनाथ खनाल पक्षले गठबन्धनले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमा दिदै आएको छन् । तर अध्यक्ष माधवकुमार नेपाल सार्वजनिक रुपमा उक्त कुरा बोल्दैनन् । खनाल पक्ष अहिलेपनि एकता गर्ने हो भने एमालेसंग गर्नु पर्ने माओवादीसंग होइन भन्दै आएका छन् ।
उहाँहरुले स्थानीय तहको निर्वाचनमा कति नै भोट ल्याउथ्यौ । यो भन्दा धेरै सिट जित्छौ भन्ने भ्रम रहेछ त्यहि भएर गठबन्धनले धोका दिएको भन्दै अभिव्यक्ति दिइरहेका छन् ,एक पोलिटब्युरो सदस्यले भने, ‘गठबन्धन भएर हामीले महानगरपालिका , उपमहानगर पालिका र १० नगर प्रमुख, ११ नगर उपप्रमुख, ८ गाउँपालिका प्रमुख, १२ गाउँपालिका उपप्रमुख जितेका हौ । गठबन्धन नभएको भए हामी केहि ठाउँमा जित्थ्यौ होला तर यति जित्ने थिएनौ ।’
गठबन्धनले धोका दियो भन्दै सार्वजनिक कार्यक्रममा बोल्ने खनाल, गरिमा शाह , विजय पौडेल लगाएताका नेताहरु छन् । उहाँहरु सबै खनाल पक्षका हुन् ।
पार्टीले नै फिर्ता बोलाएका ४ जना मन्त्रीहरु सहजै पदबाट फिर्ता हुन मानेन् । जसको परिणाम आज भएको पार्टी स्थापना दिवसमा पनि देखियो । ४ जना पूर्व मन्त्रीहरु नै उपस्थित भएनन् । पूर्वमन्त्री रामकुमारी झांक्रीले त पार्टी नेतृत्व प्रति असन्तुष्टि राख्दै आएकी ती पोलिटब्युरो सदस्यले बताए ।
किसान श्रेष्ठले त एमालेसंग टिकटको लागि छलफल चलाएको नेकपा एसका नेता बताउछन् । अन्य तीन जना नेकपा एसबाट नै निर्वाचन लड्ने पक्का पक्कि भएपनि नेतृत्वसंग सन्तुष्ट नभएको एक
केन्द्रीय सदस्यले बताए ।
गठबन्धनका निर्णय प्रति झलनाथ खनाले असहमति राख्दै आएका छन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधयकका बारेमा गठबन्धन एकमत हुदा पनि खनालले भने राष्ट्रपतिको कदम ठिक भनेका थिए । खनालले राष्ट्रपतिको कदमको समर्थन गरेपछि युवा संघका अध्यक्ष नरेश शाहिले पनि समर्थन गरेका थिए ।
पार्टीमा भएको गुटबन्दी सबै भन्दा बढी युवा संघ र अनेरास्वीयूमा देखिएको छ । करिब एक महिना सम्म युवा संघमा विवाद भएको थियो । नेपाल पक्षका युवाहरु अध्यक्ष नरेश शाही र महासचिव दिपक जिएम विरुद्ध लागेका थिए । खलान पक्षका युवा संघका नेताहरुले चुनाव अघाडि नै भेला अथवा सम्मेलन गरेर नेतृत्व परिवर्तन हुनु पर्ने माग राखेका थिए । तर अन्तमा नेताहरुले चुनाव पछिको भाका दिएर विवाद मिलाएको एक युवा संघका केन्द्रीय सदस्यले बताए ।
त्यस्तै विवाद विद्यार्थी संगठनमा रहेको थियो । विद्यार्थी संगठनको अहिलेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न सकेको थिएन । पार्टी नेतृत्वले विवाद मिलाएपछि १२ र १३ गते केन्द्रीय कमिटीको बैठक बस्दै छ । अखिलमा पनि अध्यक्ष नेपाल पक्षको र महासचिव खनाल पक्षको हुदा विवाद भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: