Bagmati Samachar Logo

नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी भएको बताए।

नागरिकता विधेयक राष्ट्रघाती भन्नु बेइमानी र अनैतिक हो, चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रूपमा जे लगिएको थियो त्यही विधेयकका रूपमा अहिले लगेको हो।’

उनको यो भनाइ नेकपा एमालेतर्फ लक्षित थियो । एमालेले नागरिकता विधेयकबारे गलत प्रचार गरिरहेको आरोप लगाए।

उनले नागरिकता विधेयकको विरोध गर्नु पाखण्डबाहेक केही हुन नसक्ने बताएका थिए।

‘अध्यादेशका रूपमा ओलीले जे लगेका थिए त्यही विधेयकका रूपमा संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरू केही हुन सक्दैन,’ उनले भने।

प्रतिनिधि सभाबाट दोस्रोपटक नागरिकता विधेयक पारित भएको थियो। पहिलोपटक नागरिकता विधेयक दुवै सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ पठाए पनि राष्ट्रपतिले पुनः संसदमै फिर्ता गरेकी थिइन्।

यसैबीच प्रचण्ड वन मन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई लिएर चितवन पुगेका छन्। मन्त्रीहरू सहित प्रचण्ड चितवनको माडी जाने कार्यक्रम छ।