Bagmati Samachar Logo

यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन एक्ला एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको बताए । लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेको बताए।

‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, ओलीले भने, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन(सठबन्धन बनिरहेको छ।’ उनले भने, ‘गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन्। ’

पाँच दलीयले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिराख्या छन् । यो गठबन्धन किन बनाउनुपर्‍यो, यति साह्रो गठबन्धन किन बनाउनुपर्‍यो ? चुनावमा आफ्नो गठबन्धन लिएर जानुपर्ने र चुनावपछि कसको सरकार बनाउने भन्ने गठबन्धनमा जानुपर्ने उनको भनाइ थियो । एमालेलाई बहुमत ल्याउन रोक्नका लागि यो गठबन्धन हो, उनले थपे ।

एमालेले देशको विकासका योजना लिएर अगाडि बढेको बताउँदै ओलीले त्यसबाट आत्तिएकाहरू गठबन्धन बनाउन लागेको बताए । एमाले सरकार बनाएर मुलुकमा जनताका इच्छा, आवश्यकताहरूलाई बुझेर यिनीहरूलाई पूरा गर्न, देशबाट गरिबी, असमानता, भेदभाव हटाउने सामाजिक न्याय र समृद्धिको चाहनालाई पूरा गर्नका लागि जित्नपर्ने बताए ।