अख्तियार कार्यालय हेटौँडाद्वारा धेरै उजुरी फर्छ्यौट
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले एक वर्षमा ७० प्रतिशत उजुरीको फर्छ्यौट गरेको जनाएको छ ।
अख्तियार कार्यालयले गएको आर्थिक वर्ष २०७८–०७९ मा कार्यालयमा परेका ७० प्रतिशत उजुरीलाई फर्छ्यौट गरेको जनाएको हो ।
आयोगको कार्यालय हेटौँडामा परेको १६ सय उजुरी मध्ये १ हजार १ सय ३२ वटा उजुरी फर्छ्यौट भएको सूचना अधिकारी विष्णु प्रभा सापकोटाले बताए ।
सापकोटाको अनुसार आयोगमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी पर्ने गरेका छन् । स्थानीय तहपछि शिक्षा क्षेत्रको उजुरी रहेको उनले बताए ।
कार्यालयले रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा गरी जम्मा ११ वटा जिल्ला हेर्ने गरेकोमा सबैभन्दा धेरै उजुरी बारा जिल्लाको रहेको उनको भनाई छ । दोस्रो नम्बरमा रौतहट तथा तेस्रो नम्बरमा मकवानपुर रहेका छन् ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार बाराबाट गत आर्थिक वर्षमा ३९१ उजुरी परेका थिए भने रौतहटबाट ३७४, मकवानपुरबाट ३१०, पर्साबाट २८६, चितवनबाट १६६ वटा उजुरी परेका थिए ।
त्यसै गरी दोलखा तथा धादिङबाट १८–२८ वटा, काभ्रेबाट १५, रामेछापबाट १२, नुवाकोटबाट ४ र सिन्धुपाल्चोक तथा रसुवाबाट ३–३ वटा उजुरी परेका थिए ।
आयोगको अनुसार स्थानीय तहमा भएको अनियमितताबारे ७ सय ७८ उजुरी परेका थिए भने स्थानीय तह अन्तर्गत शिक्षा तर्फ २८९ उजुरी परेका थिए ।
प्रतिक्रिया दिनुहोस्: