Bagmati Samachar Logo

‘दुष्ट आशय बोकेकासँग पार्टी एकता गर्दैनौं, छोडेर आए सोच्न सकिन्छ’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका कम्युनिष्टहरुसंग पार्टी एकता नहुने बताएका छन् । यी गठबन्धनमा रहेका कम्युनिष्टहरु दुष्ट आशय बोकेकाहरू भएकाले उनीहरुसँग पार्टी एकता नहुने बताएका छन् ।

मंगलबार २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् ।

दुष्ट आशय बोकेकाहरूसँग हामी पार्टी एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरु, यही ठूलै भाडामा पकाएको ढिँडो खाउ न । फेरि यत्रो भाँडोमा के गुजुगुजु पार्नु ?’, ओलीले गठबन्धन बाहिरका कम्युनिस्टहरूलाई आव्हान गर्दै भने, ‘आउनुस् सँगै मिलेर काम गरौ ।’ उनले प्रतिक्रियावादीहरुले यत्रो चुनौति दिइरहेका बेला चुनावी तालमेलमात्रै गर्न नसकिने बताए । ‘यत्रो चुनौति दिइरहेका छन् । अलग बस्नुपर्ने कारण नै छैन’, देश र सुशासनका विरुद्ध एमाले नभएको उनले बताए । उनले गठबन्धन बेठीक भनेर आउनेलाई विचार गर्न सकिने बताए ।

‘अस्ति त पाँच भाइ जम्मा भएछन् । अनि के पो बनाउने रे समाजवादी केन्द्र । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ? यी एसपीपी, यी एमसीसी ? त्यसकारण यी समाजवादी हुँदैहोइनन्’, ओलीले कटाक्ष गरे । उनले गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट गठबन्धनका रुपमा चिनिएको बताए ।

ओलीले नेपाली काँग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने अधिकार पनि नभएको बताए । स्वाधिनताविरुद्ध हिँड्ने काँग्रेसले किन आफूलाई प्रजातान्त्रिक भनेको ? भन्दै उनले प्रश्न गरे ।