पर्यटन मन्त्रालयका उपसचिव घुससहित रंगेहात पक्राउ, साढे २२ लाख रुपैयाँ बरामद
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरुमाम ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।
पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं। १ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो ।
आयोगको टोलीले निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार रुपैयाँसमेत फेला पारेको जनाइएको छ । उनको साथबाट बरामद भएको कुल २२ लाख ५० हजार रुपैयाँसहित उनीमाथि लागेको आरोपका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: