तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरे। शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् ।
सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दै भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताए । उनले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताए ।
अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताए । उनले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताए । गठबन्धनबाटै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको जिकिर गरे । उनले माओवादी समर्थित पत्रकारहरुको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गरे । उनले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्: