एमाले सरकारमा आउनेबित्तिकै लुकाएको पैसा बजारमा आउँछः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारमा आएपछि लुकाइएको पैसा बजारमा आउने बताए । बुधबार अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने बताएका हुन् ।
‘हामी सरकारमा आएपछि हराएको पैसा खोज्न सकिन्छ कि सकिँदैन भन्दाखेरी नीतिगत सुधार गर्नेबित्तिकै बजारमा पैसा आइहाल्छ नि ’, महासचिव पोखरेलको भनाइ छ ।
‘सधैंभरी मान्छेले पैसा लुकाएर राख्छ र ? सरकार चेन्ज हुनेबित्तिकै लुकाएको पैसा बाहिर निस्किहाल्छ’, उनले भने, ‘जुन प्रक्रियामा लान खोजेका छन्, त्यो प्रक्रियामा लान त सम्भव छैन, वैधानिक प्रक्रियामा प्रवेश गर्नैपर्छ ।’ उनले गलत नीति अन्तर्गतको गलत सरकार भएको भन्दै त्यो नीति भएको सरकारबाट मुक्त भएसँगै त्यस प्रकारका प्रवृत्तिमाथि छानविन थालिहाल्ने बताए ।
‘छानविन थाल्नेबित्तिकै डम्पिङ गरेर राखेको पैसा सीज हुन सुरु गर्छ र यो प्रवृत्ति दुरुत्साहित हुन्छ । यो आर्थिक संकट प्रायोजित संकट हो । गलत नीतिको परिणाम हो । नेकपा एमाले आउने वित्तिकै मुलुकलाई आर्थिक रुपमा फेरि हामी सही बाटोमा उभ्याउन सक्छौ भन्ने विश्वास छ’, पोखरको भनाइ छ ।
यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ?
महासचिव पोखरेलले साना दलहरु राजनीतिमा जति हावी हुँदै जान्छन् उति मुलुकले सही बाटो नसमाउने बताए । ‘जति साना दलहरु राजनीतिमा हावी हुन्छन् मुलुकले सही बाटो समाउँदैन । आज के देखिन्छ भने तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्दै भौतारिँदै हिँडिराखेको देख्दा नेपालको लोकतन्त्रले सहि सामात्या छर ?’, पोखरेलले प्रश्न गर्दै भने, ‘जनमतले १२ प्रतिशतको सामर्थ्य राख्दैन, प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुद्याछ ,योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ? लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने हो त्यसैले राजनीतिक धुब्रिकरण कुरा गरेको हो’, पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले कालोधन सेतो बनाउन खोज्नेहरूले गभर्नरमाथि आक्रमण गरेको आरोप पनि लगाए । गभर्नरमाथि आक्रमण हुनुमा वित्तिय अराजकता मच्चाउने र कालो धनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दावी पोखरेलको छ । उनले संसद विघटनको बचाउ गर्दै जनतासँग जान खोज्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा बुझ्नुपर्ने बताए ।
गठबन्धनसँग एमालेले चुनाव हारेको सत्य भएपनि कांग्रेस जनमतमा एमाले भन्दा पछाडि रहेको स्वीकार गर्नुपर्ने बताए । स्थानीय चुनावको मत संख्या पेश गर्दै उनले आगामी निर्वाचनमा पनि एमाले आफ्नै शक्तिमा चुनाव लड्ने एमालेको नीति रहेको तर एमालेको नीतिसँग सहमत हुनेहरुले सहकार्य गर्नसक्ने बताए ।
‘नेकपा एमाले असफल भयो भन्ने कुरा आग्रहले होइन इण्डिकेटरले देखाउनुपर्छ । सूचकले बेठीक भन्छ हामी गलत रहेछौ । सबै सूचक सकारात्मक छ भने हामी सही हुन्छौ, सूचकले सकारात्मक देखाइरहेको छ अनि कसरी एमाले असफल हुन्छ ?’ पोखरेलको प्रश्न छ । उनले पछिल्लो समय नेकपाका बहुमत सचिवालय सदस्य एकजुट हुनु कुनै अनौठो कुरा नभएको भन्दै त्यसले एमालेको जनमतलाई खासै फरक नपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: