मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैनः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनि दिने भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए ।
उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान जारी हुनुअघि नमिठो संवाद भएको थियो’, उनले भने, ‘तर, ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको थियो । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग दूतावासमा भएको ब्रेकफास्ट भेटघाटलाई नकारात्मक ढंगले प्रचार गर्ने काम भएको गुनासो गरे । भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र त्यसबाहेक अन्य कुराकानी नभएको बताए ।
भ्रमणका क्रममा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए ।
‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।
प्रतिक्रिया दिनुहोस्: