नक्कली हस्ताक्षर गरेर बैंकबाट १० लाख ३५ हजार झिक्ने ‘पत्रकार’ पक्राउ
काठमाडौं । चेकमा नक्कली हस्ताक्षर गरेर एक कम्पनीको रकम झिकेको आरोपमा एक ‘पत्रकार’ पक्राउ परेका छन् ।
अनुसार मकवानपुरको थाहा नगरपालिका स्थायी घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २१ वर्षीय वासुदेव अर्याललाई कालिमााटी प्रहरी वृतले पक्राउ गरेको बताएको छ ।
प्युठान घर भई त्रिपुरेश्वरमा फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि नामको कम्पनी चलाउँछन् प्रकाश राज भण्डारी । सामानहरूको आयात निर्यात गर्ने उक्त कम्पनीको एसबीआई बैंकको हस्ताक्षरसहितको चेकबुक करिब तीन महिना अगाडि हरायो । चेकबुक हराएलगत्तै भण्डारीले आफ्नो खाता रहेको नेपाल एसबीआई बैंकमा जानकारी गराएर हराएका सबै चेकहरू बन्द गर्न लगाए ।
भण्डारीले हराएका चेकबुक बन्द गर्न बैंकमाा सूचना दिए । तर करिब १५ दिन पहिले प्रहरीकोमा एउटा गुनासो आयो – प्रकाशराज भण्डारीको कम्पनीको नामबाट अनधिकृत व्यक्तिले धमाधम पैसा निकालिरहेको छ । आफूले चेक नकाटे पनि धमाधम चेकमार्फत् पैसा झिकिएपछि भण्डारीले एसबीआई बैंक र नेपाल प्रहरीलाई सोबारे खबर गरेका थिए ।
खबर प्राप्त भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गर्यो । सौरभ डंगोल नाम गरेका व्यक्तिका नाममा धमाधम चेक काटिएको र पैसा निकालिरहेको थाहा पाएपछि प्रहरीले उनको खोजी सुरु गर्यो । भण्डारीको कम्पनीको नामबाट चेक आएमा वा सौरभ डंगोल भन्ने व्यक्ति पैसा झिक्न आएमा प्रहरीलाई तत्काल खबर गर्न बैंकलाई खबर गर्न भनियो ।
उक्त हराएको चेक अर्यालले भेटेका थिए । सात लाख रूपैयाँ उल्लेख भएको उक्त चेक नसाटिएपछि अर्यालले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर उक्त बैंकबाट चेकबुक जारी गर्न लगाएको प्रहरीले जनाएको छ ।

२०७९ असार ३१ गते शुक्रबार नेपाल एसबीआई बैंक कलंकी शाखाबाट कालीमाटी प्रहरीलाई फोन आयो । सौरभ डंगोल भन्ने व्यक्ति फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीको चेक बोकेर बैंकमा आएका छन् । बैंकका कर्मचारीले युवकलाई एकछिन भुलाएर राखे । त्यसलगत्तै प्रहरी पुगेर एक २१ वर्षीय युवकलाई पक्राउ गर्यो । पक्राउ पर्ने व्यक्ति थिए, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल ।
सौरभ डंगोलको खोजीमा निस्किएको प्रहरीले शुक्रबार बैंकबाट २१ वर्षीय वाशुदेव अर्याललाई पक्राउ गरेर प्रहरी वृत्त कालीमाटीमा ल्यायो । अर्यालको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि प्रहरी सातदोबाटोस्थित वाशुदेवकै कोठामा पनि पुग्यो । अनि त्यहाँ पुगेर खानतलासी गर्दा प्रहरीले नेपाल एसबिआई बैंक, प्रभु बैंक, नेपाल बैंक लगायत बैंकका चेकबुक र एनएमबी लगायतका केही बैंकका चेक फेला पार्यो । साथमा थियो वाशुदेवले नक्कली हस्ताक्षर गर्न प्राक्टिस गरेको दस्तखतको नमुना, विभिन्न बैंकमा डिपोजिट गरिएको बैंक भौचरको कागजात, विभिन्न कम्पनीको छाप, विभिन्न व्यक्तिका सवारीचालक अनुमतिपत्र, विभिन्न कम्पनीका १६ थान सिमकार्ड, दुईवटा मोबाइल, डेल कम्पनीको ल्यापटप । आइतबार काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिका घर भएका २१ वर्षीय वाशुदेव अर्यालको खास पेशा के हो भन्ने अझै पत्ता लागेको छैन । यद्यपि अर्यालको साथबाट पत्रकार परिचय पत्र भने बरामद भएको छ । प्रहरीका अनुसार सूचना विभागबाट जारी भएको ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको ३०८३७ नम्बरको पत्रकार परिचय पत्र समेत फेला परेको छ ।
अर्यालले अर्काको खाताबाट यसरी चोरे १० लाख ३५ हजार
३ महिना अगाडि प्रकाशराज भण्डारीले फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीको कागजात र हस्ताक्षरसमेत गरिसकेको चेक हराएलगत्तै ती चेक क्यान्सिल गर्न उनले बैंकलाई आग्रह गरिसकेका थिए । बैंकलाई जानकारी गराएपछि उनी ढुक्क भए ।
प्रहरी हिरासतमा रहेका अर्यालले आफूले ती चेकबुक बानेश्वरबाट भेट्टाएको र लोभ लागेको कारण चेक साट्नसमेत गएको बताएका छन् । तर जब पहिलोपटक अर्याल ती चेक साटहीका लागि एसबीआई बैंकमा पुगे, बैंकले उक्त चेक क्यान्सिल गराइसकेको कारण सटही नहुने जवाफ दियो । तर भण्डारीले हराएको भनेर निवेदन दिइसकेको चेक लिएर सटही गर्न आउँदा पनि बैंकले भण्डारीलाई खबर गरेन ।
पहिले पनि एक निजी कम्पनीमा जागिर खाँदा अर्यालले चेक लिन जाने, सटही गर्न जाने र डिपोजिट गर्न जाने गरेका थिए । उनलाई बैंकको प्रोसेसबारे सबै थाहा थियो । कम्पनीकै नामको चेक भएपछि कम्पनीमा धेरै पैसा होला भनेर उनमा लोभ पलायो । अनि कम्पनीकै नामबाट अर्को चेक निकालेर बैंकबाट पैसा झिक्ने आपराधिक योजना बनाए ।
अर्यालले फेला पारेको चेकमा फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीको छापसमेत रहेको थियो । त्यसपछि वाशुदेवले पहिले उक्त कम्पनीको नामको रबर स्ट्याम्प बनाए । अनि केही दिन प्रकाशराज भण्डारीले गर्ने गरेको हस्ताक्षरको नमुना हेरेर उस्तै हस्ताक्षर गर्न सक्ने भए । त्यसपछि अर्याल पेप्सीकोलास्थित नेपाल एसबीआई बैंकमा पुगेर कम्पनीको चेकबुक हराएको कारण नयाँ चेकबुक जारी गर्न निवेदन दिए । निवेदनमा उनले कम्पनीको छापसमेत लगाएर हस्ताक्षर गरे ।
एसबीआई बैंकले गर्यो गम्भीर कमजोरी
सामान्यतः बैंकले यसरी नयाँ चेकबुक लिन आउँदा सम्बन्धित व्यक्तिको परिचयपत्र पनि माग्ने गर्छ । बैंकले नागरिकता मागेर त्यसको फोटोकपी पनि राख्ने गरेको हुन्छ । तर पेप्सिकोलास्थित नेपाल एसबीआई बैंकले भने नक्कली चेकबुक निकाल्न आएका व्यक्तिसँग कुनै कागजात मागेन । मात्रै छाप र हस्ताक्षर मिलेको निवेदनकै आधारमा कम्पनीको नामको चेकबुक वाशुदेव अर्याललाई दियो ।
एसबीआई बैंकले लापरवाहीपूर्वक चेकबुक दिएपछि वाशुदेव अर्यालले उक्त कम्पनीको खाताबाट पैसा झिक्ने योजना अनुसार कतैबाट सौरभ डंगोल नाम गरेका व्यक्तिको ड्राइभिङ लाइसेन्स लिए । अनि डंगोलको नाममा चेक जारी गर्दै उनकै ड्राइभिङ लाइसेन्स देखाएर पटकपटक गरी १० लाख ३५ हजार रुपैयाँ बैंकबाट झिके ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै थप केही बताउन नमिल्ने प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिसँग सूचना तथा प्रसारण विभागले जारी गरेको आधिकारिक प्रेस कार्डसमेत फेला परेको भन्दै उनी पत्रकारिता नै गर्ने व्यक्ति हुन् कि कार्ड मात्रै बनाएका हुन् भन्ने सम्बन्धमा पनि अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: