Bagmati Samachar Logo

३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख , भुसाल विजयी

भट्टराईलाई हराउँदै काँग्रेस सांसद भुसाल विजयी

काठमााडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । भट्टराईले ९३ मत पाएकी थिइन् । १ जना तटस्थ रहेका थिए ।

भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सांसद लक्ष्मी चौधरी रहेकी थिइन् । भुसाल सत्ता गठबन्धन दलबाट उम्मेदवार बनेकी हुन भने भट्टराई विपक्षी दलबाट उम्मेदवार बनेकी हुन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले मत विभाजनद्वारा निर्वाचन प्रक्रिया सम्पन्न गराएका हुन् । उम्मेदवारको पक्षमा रहनेलाई सभामुखको आसनको दायाँ तर्फको लबीमा गएर, विपक्षमा रहनेलाई सभामुखको आसनको देब्रेतर्फको लबीमा गएर र तटस्थ रहनेलाई सभामुखको आसनको पछाडिको लवीबीमा गई हस्ताक्षर गरेर मत जाहेर गर्न समय दिएका थिए ।

तत्कालीन नेकपाको सरकार बनेपछि सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने व्यवस्था भएपछि अग्नि सापकोटालाई सभामुख हुन बाटो खोल्दै २०७६ माघ ६ गते डा।शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । त्यसयता खाली भएकोमा झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।