Swornakshar Logo

उपमहानगर हाँक्ने पहिलो महिला एकीकृत समाजवादीकी मीनाकुमारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीनाकुमारी लामा विजयी भएकी छन्।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी लामाले २३ हजार ७५ मत ल्याएर विजयी भएकी छन् । निकट प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेलले पौडेलले २० हजार ९ सय ८ मत ल्याएका छन्। लामाले २ हजार १ सय ६७ मतले हराएकी हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा छन्।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ ३२ हजार ५ सय ९३ मत ल्याएर विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय २३ मत ल्याएकी छन्।

लामा देशका ११ उपमहानगरमै मेयर जित्ने पहिलो महिला हुन्।

२०७४ को स्थानीय निर्वाचनमा उपमहानगरमा महिलाहरू उपमेयरमै सीमित भएका थिए। मीनाकुमारी पनि त्यति बेला उपमेयर भएकी थिइन्। यसपटक दलहरूको गठबन्धनका कारण कतिपय उपमहागरमा मेयर, उपमेयर नै पुरूष हुने धेरै सम्भावना छ।

यसपालि ११ उपमहानगरमध्ये तीनवटाको मेयरमा महिला उम्मेदवार थिए। तीमध्ये बाराको जितपुर(सिमराको मेयरमा उठेकी एमालेकी सरस्वती चौधरी पराजित भइसकेकी छन् भने धरानकी एमाले उम्मेदवार मन्जु भण्डारी मतगणनामा पछि परेकी छन्। मीनाकुमारीले भने इतिहास रच्ने अवसर पाएकी छन्।

एकीकृत समाजवादीका लागि पनि यो अहिलेसम्मकै उपलब्धिपूर्ण जित हो। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले अहिलेसम्म हेटौंडासहित २० वटा पालिका जितेको छ। उपमहानगरमा यो उसको पहिलो जित हो। पोखरामा पनि एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्।

उनका लागि एउटा संयोग परेको छ। मीनाकुमारीले जुन दललाई २०७४ मा हेटौंडामा हराएकी थिइन्, अहिले उनीहरूकै सहयोगमा चुनाव जितेकी छन्।

२०७४ सालमा हेटौंडामा कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको थियो। मेयर कांग्रेसले लिएको थियो भने माओवादी केन्द्रले उपमेयरको लिएको थियो।

एमालेले गठबन्धनका दुवै उम्मेदवारलाई हरायो। कांग्रेस र माओवादीका संयुक्त उम्मेदवारलाई उपमेयरमा हराउन सफल भएकी मीनाकुमारी लामा यसपटक हेटौंडाको मेयर बनेकी छन्।

एमाले विभाजन भएपछि उनले नेकपा एकीकृत समाजावादी रोजिन्। सत्ता गठबन्धनमा रहेका दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको भागबन्डा भएसँगै हेटौंडा एकीकृत समाजवादीको भागमा पर्‍यो। पार्टीले उनलाई उम्मेदवार बनायो। उनी एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्षसमेत हुन्।

२०४६ सालमा अनेरास्ववियुमा आबद्ध भएकी लामा २०५२ मा जिल्ला कोषाध्यक्ष बनेकी थिइन्। उनले अखिल नेपाल महिला संघको जिल्ला सचिव भएरसमेत काम गरिसकेकी छन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी लामा मध्यमवर्गीय परिवारकी हुन्। उनका दुई छोराछोरी छन्। घरपरिवारको साथ र सहयोगले राजनीतिमा अघि बढ्न सजिलो भएको उनले बताइन्। छोराछोरी हुर्काउँदै राजनीति गर्न सहज नहुने उनको अनुभव छ।