भागबण्डामा राजदूत नियुक्ति नगरौंः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भागबण्डामा राजदूत नियुक्ति नगर्न सुझाएका छन् ।
आइतबार सामाजिक सञ्जालमा उनले अब राजदूत नियुक्त गर्दा राजनीतिक भागबण्डामा भन्दा पनि साझा सूची बनाएर कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरुलाई राजदूत बनाउनु पर्ने बताएका छन् ।
उनले भनेका छन् ‘एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं । मेरो धारणा यस्तो थियो र रहेको छ।संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका , असक्षम र ब्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई एकमुष्टरुपमा होइन ।’
उनले हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदुतहरु फिर्ता बोलाउने परम्परा बन्ने र यस्तो अवस्थामा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुने र स्थायित्वको आशंकाको कारण संबन्धित देशहरुमा काम गर्ने वातावरण नबन्ने उनको भनाइ छ ।
उनले भनेका छन् ‘कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था बन्छ। त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमुर्त राम्रा कुरा गर्ने तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौं ।’
श्रेष्ठले प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा आफू उपस्थित भई छलफल गर्ने अवसर प्राप्त गरेको भन्दै संघर्षको सफलता पछि गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने आफू एकाध बैठकहरूमा मात्र भाग लिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: