मुख्यमन्त्रीमा पाण्डेसँगै तीन मन्त्रीले पनि शपथ लिने तयारी
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बिहीबार शपथ लिदै छन् । मुख्यमन्त्री पाण्डेसंगै तीन मन्त्रीले पनि शपथ लिने तयारी भएको छ । गठबन्धनमा सहभागी काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री आजै शपथ लिने भएका छन् ।
पाण्डे नेतृत्वको बागमति प्रदेश सरकारमा माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनाल शपथ लिने भएका हुन् । कुन मन्त्रीले कुन मन्त्रालय पाउने भन्ने बारेभने टुङगो लागेको छैन ।
मन्त्रालय भागबण्डाबारे गठबन्धनबीच छलफल जारी रहेको काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बताए । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सहमति भएको उनले जानकारी दिए ।
बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
उनको राजीनामासँगै बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि बिहीबार नै दाबी पेस गर्न आह्वान गरेका थिए । त्यस लगत्तै गठबन्धनकोतर्फबाट ५९ सांसदको समर्थन जुटाएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: