माओवादीबाट मन्त्री मण्डलमा समावेशी , भुसाल नेतृत्व गर्ने
काठमाडौं । नेकपा माओवादीले मन्त्रीको नाम टुङगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकबाट नाम टुङग्याएको हो । मन्त्रीको नाम टुंगो लागेसंगै माओवादीबाट मन्त्रीमा समावेसी भएको छ ।
माओवादीको भागमा परेको ५ मन्त्री र एक राज्यमन्त्री परेका छन् । मन्त्रीमा सहभागी हुनेमा पाँचमा तीन जना मन्त्री महिला पठाएको छ ।
मन्त्रीमा पठाउने नाममा माओवादीले समावेशी गरेको छ ।
माओवादीबाट मन्त्री परिषदमा जानेको नेतृत्व भने स्थायी कमिटी सदस्य पम्फा भुसालले गर्ने भएकी छिन् । सिनियरताको आधारमा भुसालले नेतृत्व गर्ने माओवादी केन्द्रले बताएको छ ।
मन्त्रीपरिषदमा माओवादी तर्फबाट महिलाको उपस्थिति ५० प्रतिशत छ । मधेसीबाट (सहिद रामवृक्ष यादव) कि छोरी बोधमाया यादव, जनजातिबाट शशि श्रेष्ठको प्रतिनित्वि भएको छ । दलित समुदायबाट महेश्वर गहतराज , स्थायी कमिटी सदस्य तथा पुर्व विद्यार्थी अध्यक्ष देवेन्द्र पौडेल सहभागी हुने छन् ।
देवेन्द्र पौडेल
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन देवेन्द्र पौडेल । विाद्यार्थीबाट राजनीति सुरु गरेका थिए । सुरुमा अखिल छैठौंबाट राजनीति सुरु गरेका थिए । बागलुङ स्थायी घर हो । २०२१ साल पुस २८ गते जन्मिएका थिए । उनको परिवारमा श्रीमती र एक छोरी छन् । राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएका थिए । उनी २०५२ सालबाट माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका थिए । २०५७ सालमा केन्द्रीय सदस्य, २०६२ सालमा पोलिटब्युरो सदस्य र २०७१ सालमा माओवादी केन्द्रको स्थायी समिति सदस्य भएका थिए । २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुदा उनी प्रमुख राजनीतिक सल्लाहकार थिए ।
उनी २०७४ सालमा बागलुङ क्षेत्र नंबर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।
पौडेल २०४२ सालदेखि २०४४ साल सम्म १८ महिना धनगढी जेलमा परेका थिए । उनले पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन बिताएका थिए ।
माओवादी जनयुद्धमा प्रचण्ड–बाबुरामबीचको अन्तरविरोधमा पौडेल बाबुराम पक्षमा लागेका थिए । बाबुरामले नयाँ शक्ति बनाउँदा माओवादी छाडेर नयाँशक्तिमा लागेका उनी अन्ततः माओवादीमै फर्किए र बाग्लुङबाट चुनाव जिते ।
शशी श्रेष्ठ
शशी श्रेष्ठ माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य हुन । समानुपातिक सांसद श्रेष्ठ माओवादीका स्थायी कमीटी सदस्य लिलामणि पोखरेलको श्रीमति हुन । श्रेष्ठ यसअघि राज्यमन्त्री बनेकी थिइन् । उनी अहिले संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुन । उनले अहिले पनि राज्यमन्त्री सरहको सुविधा पाएरहेकी थिइन् । श्रेष्ठ मन्त्रीमा सिफारिस भएपछि संसदीय समितिको सभापति पद खाली भएको छ ।
२०३४ सालदेखि विद्यार्थी राजनीतिमा सुरु गरेकी थिइन् । २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी उनी २०४० सालमा नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएकी थिइन् ।
२०३६ सालबाट कम्युनिष्ट राजनीति सुरु गरेकी थिइन् । नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशन समुहबाट राजनीति सुरु गरेकी थिइन् । २०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाइन ।
२०३८ साल तथा २०४२ सालसम्म जेल जीवन भोगेकी उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक भूमिगत जीवन र प्रहरी हिरासतको अनुभव भोगेकी छिन् । स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
२०५५ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, २०५९ सालमा जनमोर्चाको सचिवालय सदस्य र २०६५ सालमा माओवादी केन्द्रीय सदस्य भएकी उनी २०७१ सालमा माओवादी पोलिटब्युरो सदस्य भइकी थिइन् ।
२०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् ।
महेश्वर गहतराज
२०४५ सालमा अनेरास्ववियु वीरेन्द्र मा.वि बाँफीकोटबाट राजनीति सुरु गरेका थिए । २०४८ सालमा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य बनेका थिए । उनी २०५१ सालबाट माओवादी पार्टीमा सक्रिय राजनीति सुरु गरेका हुन ।
बिद्यार्थी संगठनबाट राजनीति सुरु गरेका प्रस्तावित मन्त्री महेश्वर गहतराज ‘अथक’को स्थायी ठेगाना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ हो । २०२८ भदौ १२ गतेर रुकुममा जन्मिएका हुन । उनले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।
२०५८ सालमा माओवादीको जुम्ला, मुगु र हुम्ला इञ्चार्ज भएका थिए। २०५९ सालमा बाँके, बर्दिया इञ्चार्ज र २०६० सालमा माओवादीको केन्द्रीय सदस्य भएका थिए । २०६५ सालमा एकीकृत माओवादीको केन्द्रीय सदस्य तथा थारुवानको सेक्रेटरी भएका थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बाँके क्षेत्र नंबर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
बोधकुमारी यादव
बोधकुमारी यादवको धनुषा जिल्लाको धनुषा नगरपालिका १० स्थायी घर हो । यादव २०३१ साल कात्तिक २८ गते जन्मिएकी हुन् । माओवादी आन्दोलनका सहिद स्व.रामवृक्ष यादवकी छोरी हुन् । उनको परिवारमा श्रीमान, दुई छोरा र एक छोरी रहेका छन् । नेपाली विषयमा स्नातक तहको अध्ययन गरेकी यादव २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन् ।
अखिल छैंठौंबाट २०४४ सालमा विद्यार्थी राजनीति सुरु गरेकी थिइन । २०५८ सालमा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।
यादव २०६० सालमा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म उनलाई नजरबन्दमा राखिएको थियो । २०६७ सालमा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी र २०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय सदस्य भइन् । त्यस्तै, २०७० सालमा एकीकृत माओवादीको पोलिटब्युरो सदस्य बनिन् ।
पहिलोचोटि मन्त्री बन्न लागेकी उनलाई माओवादीले सहिद परिवार र मधेसी समुदायको कोटाबाट सरकारमा छानेको हो ।
प्रतिक्रिया दिनुहोस्: