Bagmati Samachar Logo

प्रभु साहको विद्रोह : एमाले र जबज मान्दैनौं

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रभु साहको ८ बँुदे माग राखेका छन् । लामो समयसम्म पार्टीका बैठक र सार्वजनिक कार्यक्रममा देखिन छोडेका साहले शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ८ बँुदे माग राखेका छन् ।

सर्वोच्च अदालतले २३ फागुन २०७७ सालमा माओवादी केन्द्र र एमाले ब्युताएपछि केपी ओली पक्षमा लागेर साह शहरी विकास मन्त्री बनेका थिए । उनी माओवादी छोडेर एमालेमा बसेर नै मन्त्री पद पाएका थिए ।

मन्त्री पद पाएपछि साहले आफैले भन्दै आएको ओलीको प्रतिगमन संग आत्मसमर्पण गरेको आरोप माओवादी केन्द्रका नेताहरुले लगाउन थालेका थिए । साहले पनि जति दिन मन्त्री रहे माओवादी र त्यसका अध्यक्ष प्रचण्डको चर्को विरोध गरे । तर, पछिल्लो समय उनी एमाले र विशेष गरी ओलीसंग रुष्ट बनेका छन् । उनले रौतहटमा आइटि आर्मी गठन गरेर छुटै राजनीति गतिविधि गदै आएका छन् ।
एमालेको बैठकमा सहभागी हुन छोडेका साह पूर्वमाओवादीको बैठक भेलामा भने सहभागी हुदै आएका छन् । ओलीले उनीसंगै माओवादी छोडेर एमाले पसेकी ज्वालाकुमारी साहलाई २नं. प्रदेशको अध्यक्ष बनाएपछि झन रुष्ट बनेका थिए । पूर्वमाओवादी नै लडाएर ओलीले ज्वलाकुमारीलाई नेतृत्व दिएकाले प्रभु ओलीसंग रुष्ट बनेर एमाले छोड्ने मनसायमा रहेको बताइन्छ ।

उनी आइटी आर्मी नामक संगठन बनाएर चुनावको तयारीमा लागेको बताइन्छ । साहले एमाले होइन नेकपाको निरन्तरता भन्दै आएका छन् , त्यो भनेको २०७५ साल ३ जेठ हो । जब कि एमालेले १० जना स्थायी कमिटीका सदस्यसंग २ जेठमा फर्कने सम्झौता गरेको छ । साह एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादका विरोधी छन् । उनी जनताको जनवाद मान्नु पर्ने भन्दै आएका छन् । अझ उनले एमालेको १०औं महाधिवेशनलाई एकताको महाधिवेशन भन्नु पर्ने माग राखेका छन् ।

यस्ता छन् साहले राखेका ८ बुँदे माग

१. सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युताए पनि हामीले नेकपा (एमाले) लाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्ने ।

२. नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनमा व्यापक छलफलमार्फत विकास गर्ने।

३. वर्तमान संविधानलाई हाम्रो ७ वर्षको अनुभवको आधारमा देखिएका त्रुटीहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभुति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पुरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडि बढ्ने ।

४. नेकपा (एमाले) को वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा नेकपा (माओवादी केन्द्र) को वैधानिक कमिटी र पदीय हैसियत अनुसार मिलान गर्ने अर्थात माओवादीको पूर्व पदाधिकारीलाई पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिट ब्यूरोमा पोलिट ब्यूरो सदस्यहरुलाई केन्द्रीय कमिटीमा, केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटी र प्रदेश कमिटीलाई जिल्ला कमिटीमा समायोजन गर्ने तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपामा अभ्यास गरेको मर्यादाक्रम र दुईटै पार्टीको वैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्ने

५.पार्टी संगठन, जवस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपुर्ति गर्दा एकताको मर्म अनुरुप माओवादी पक्षका कमरेडहरुलाई सम्मानजनक सहभागी गराउने ।

६. पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतिको आधारमा गर्ने ।

७. प्रदेश नं. २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतिलाई कार्यान्वयन गर्ने ।

८. आईटी आर्मीलाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्ने